नेपाल र चीनबीच भाषाको कारण आयात–निर्यात प्रभावित


नयुज अफ नेपाल, काठमाडौं ।

नेपाल र चीनबीच भाषाको कारण आयात–निर्यातमा समस्या देखिएको छ । चीनले नेपालबाट निर्यात हुने खाद्यबस्तुको प्याकेजिङमा चिनियाँ र नेपालले आयात हुनेमा अंग्रेजी भाषा हुनपर्ने अडान लिएपछि व्यापार नै प्रभावित भएको छ ।

‘क्वारेन्टाईन’ जाँचका क्रममा चिनियाँ भाषा नबुझेपछि अंग्रेजीमा हुनपर्ने भन्दै भदौमा रसुवा भन्सार कार्यालयले खाद्यबस्तुको आयात रोकेपछि चीनले पनि नेपालबाट निर्यात हुने खाद्यबस्तुको ‘लेबलिङ’ चिनियाँ भाषामै हुनपर्ने अडान लियो ।

नेपालबाट पठाइएको ७० करोड रुपैयाँ बराबरको खाद्यान्न चीनले केरुङमै रोक्दा नेपालले पनि भित्र्याएको छैन । क्वारेन्टाईन जाँचपास ऐनमा नेपाली वा अन्तर्राष्ट्रिय भाषा अंग्रेजी नभए कडाई गर्न सक्ने व्यवस्था छ । खाद्यान्न बाहेकका सामग्री भने आयात–निर्यात भइरहेको छ ।

नेपालबाट दैनिक ४० भन्दा बढी खाद्यान्नका परिकार चीन निर्यात हुन्छ । करिब एक महिनायता आयात–निर्यात रोकिएपनि दुवै पक्षले यसबारे छलफल भने गरेका छैनन् ।

चीनले ८ हजारभन्दा बढी बस्तुमा शुन्य भन्सार तोकेको छ । त्यसलाई नेपालले उपयोग गर्न भने सकेको छैन । त्यस्तै, निर्यात गर्दा पनि क्वारेन्टाईन, खाद्यन्न परीक्षण र प्रशासकीय झमेला खेप्नुपर्ने परिस्थितिमा भाषा विवादले नेपालको निर्यात थप प्रभावित भएको छ ।

दुवै देशले समस्या समाधानको पहल नथाल्दा एक महिनायता सडकमार्गबाट हुने आयात–निर्यात ठप्प भएको हो ।