मन्त्री गुरुङ र कतारका राजदूतबीच शिष्टाचार भेट


काठमाडौँ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसँग नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्री गुरुङकै कार्यकक्षमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गरिएको हो । मन्त्री गुरुङले महिला तथा बालबालिकाका क्षेत्रमा कतार सरकारसँग सहकार्य गरेर अघि बढ्ने जानकारी गराउँदै नेपालको संविधान र कानूनले महिला सहभागितालाई सुनिश्चित गरेको स्मरण गराउनुभयो ।

उहाँले उद्यमशीलतामार्फत नेपाली महिलालाई आर्थिक रुपमा सुदृढ गराउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले नेपाली महिलाको सीप विकास गर्न तथा महिला उद्यमीको उत्पादनलाई कतारमा बजार विस्तार गर्न दुई मुलुकबीच सहकार्य गरेर जान सकिने पनि बताउनुभयो ।

भेटका अवसरमा राजदूत हेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयजस्तो महत्वपूर्ण क्षेत्र हेर्ने मन्त्रालय सम्हाल्नु भएकामा कतार सरकारका तर्फबाट बधाईज्ञापन गर्नुभयो ।

उहाँले महिला तथा बालबालिकाको क्षेत्र कतार सरकारको पनि प्राथमिकतामा परेको क्षेत्र भएको जानकारी गराउँदै मन्त्री गुरुङलाई कतारको विकासमा नेपाली युवाले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो । साथै, उहाँले नेपालको महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्न कतार सरकार इच्छुक रहेको समेत सुनाउनुभयो ।