मकवानपुरबाट पाँच अपहरणकारी पक्राउ


न्युज अफ नेपाल, हेटौंडा ।

अपहरण गरी वन्धक बनाएको आरोपमा मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९, लामसुरे बस्ने ३६ वर्षीया सरस्वती तामाङ, काठमाडौं महानगरपालिका–३, पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशीष सिजापती छन् ।

कञ्चनपुरको श्रीपुर गाविस–६ बस्ने २९ वर्षीया सुनिता धामी र धादिङ नेत्रावती ढुस्जु गाउँपालिका–६ घर भएका आशीक लामा पनि पक्राउ परेका छन् ।

उनीहरुलाई रामेछापको दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापामगरलाई वन्धक बनाएर हेटौंडाकी तामाङको घरमा राखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

बुधबार विहान करिब ३ः३० बजे हेटौंडा–४ स्थित बा. २ ज ५९५ नम्बर ट्याक्सी अमलेखगञ्जबाट काठमाडौं जान लाग्दा बा. २ ज ५३५६ नम्बर ट्याक्सीमा आएका सिजापती, धामी, गुरुङ, ट्याक्सीचालक लामाले बा. २ ज ५९५ नम्बर ट्याक्सीमा सवार मगरलाई कुटपिट गरी घाइते बनाएका थिए ।

बा. २ ज ५९५ नम्बर ट्याक्सी रोकी ट्याक्सीमा सवार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा–९ बस्ने वर्ष २८ का सरोज सापकोटालाई कुटपिट गरी घाइते बनाइएको थियो ।

सोही ट्याक्सीका यात्री रामेछापको दोरम्बा–५ बस्ने वर्ष २१ का थापामगरलाई अपहरण गरी बा. २ ज ५३५६ नम्बर ट्याक्सीमा राखी हेटौंडा–९, लामसुरे बस्ने तामाङको घरमा वन्धक बनाइएको थियो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब १२ः३० बजे अपहरितलाई सकुशल मुक्त गरी अभियुक्तहरुलाई पक्राउ गरेको मकवानपुरका एसपी सिंहले बताउनुभयो ।

वन्धक बनाइएकालाई तामाङको घरमा प्रहरीले अपहरणमा परेको करिब ८ घण्टापछि मुक्त गराएको हो । अभियुक्तहरुलाई अपहरण तथा शरीर वन्धक कसुरमा १० वर्षदेखि १५ वर्षसम्म कैद र १ लाखदेखि १ लाख ५० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको एसपी सिंहले बताउनुभयो ।