दिसाजन्य लेदोको व्यवस्थापन गर्न योजना बनाएर अघि बढ्ने खानेपानी मन्त्री मगरको प्रतिबद्धता


न्युज अफ नेपाल, काठमाडौं ।

खानेपानी मन्त्री बिना मगरले नयाँ प्रविधिको माध्यमबाट दिसाजन्य लेदो वस्तुको व्यवस्थापन गर्न योजनासहित मन्त्रालय अघि बढेको बताएकी छिन् ।

नेपाल नगरपालिका संघले बुधबार राजधानीमा आयोजना गरेको दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले ठोस फोहोर मात्र नभई दिसाजन्य लेदोको व्यवस्थापनमा दीर्घकालीन समाधान खोज्न योजना बनाइएको बताएकी हुन् ।

‘दिसाजन्य लेदो व्यवस्थापनको विषय अहिले ओझेलमा परेको छ । बढ्दो सहरीकरण र जनघनत्वका कारण यो समस्या बढ्दै छ,’ उनले भनिन्, ‘नयाँ प्रविधिलाई आत्मसात् गरेर अघि बढ्न सक्यौं भने यसको व्यवस्थापनमा आमूल परिवर्तन आउनेछ ।

बढ्दो सहरीकरण र दिसाजन्य लेदो व्यवस्थापनमा सचेतनाको कमीका कारण खोला एवं वातावरणमा दिसाजन्य लेदोको विसर्जन असुरक्षित तरिकाले भइरहेको छ । नेपालमा दिसाजन्य लेदोको उचित व्यवस्थापन गर्न चुनौती छ तर पनि मन्त्रालयले योजना बनाएर अघि बढिरहेको छ ।’

मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने भन्दै पूर्ण सरसफाइ कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकार नै अग्रसर हुनुपर्ने बताइन् । कार्यक्रममा बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशनका उपनिर्देशक डा. रोशनराज श्रेष्ठले सरकारले ढल र ठोस फोहोरको व्यवस्थापनमा लगानी गरेजस्तै दिसाजन्य लेदोको व्यवस्थापनमा पनि लगानी गर्नुपर्ने सुझाव दिए ।

उनले आधुनिक प्रविधिको माध्यमबाट दिसाजन्य लेदोको व्यवस्थापन गर्न सकिने भएकाले यसले ऊर्जा उत्पादनमा सघाउ पुग्ने बताए ।

नेपालमा दिसाजन्य लेदो व्यवस्थापनको अवस्था

दिसाजन्य लेदो व्यवस्थापन भन्नाले दिसा–पिसाबको व्यवस्थित संकलन, भण्डारण, रित्याउने र ढुवानी, प्रशोधन र सुरक्षित विसर्जनसम्मको समग्र क्रियाकलापलाई बुझाउँछ ।

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेपछिको यो पूर्ण सरसफाइअन्तर्गतको कार्यक्रम हो । वातावरण र जनस्वास्थ्य संस्था ९एन्फो० को प्राविधिक सहयोग र पहलमा नेपालमा पहिलोपटक सन् १९९८ मा काठमाडौंको टेकुस्थित तत्कालीन काठमाडौं नगरपालिकाको फोहोर संकलन केन्द्रमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएको थियो ।

तर, विविध कारणले उक्त प्रशोधन केन्द्र केही समय सञ्चालन भई बन्द भयो । सन् २००३ मा पोखरामा बनेको अर्को प्रशोधन केन्द्र पनि विविध कारणले सञ्चालनमा आउन सकेन । सन् २०१६ मा भने एन्फोको प्राविधिक सहयोगमा दुई वटा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरू स्थापना भएका छन् ।

बर्दियाको गुलरिया नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरू निर्माण भई सञ्चालन भइरहेका छन् । नेपालका पाँचवटा नगरपालिकाहरू लहान, धुलिखेल, वालिङ, लमही र कञ्चनपुरको भीमदत्त नगरपालिकामा पाइलट प्रोजेक्टको रूपमा दिसाजन्य लेदो व्यवस्थापनको काम अघि बढाउन लागिएको छ ।