राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक: पुस १७ गते उम्मेदवारी दर्ता


न्युज अफ नेपाल, काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका बुधबार सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार यही पुस १७ गते मतदाता नामावली प्रकाशित गरिने र प्रकाशित नामावलीउपर दाबी–विरोधको उजुरी दिन सकिनेछ ।

उजुरीउपर छानबिन गरी आयोगले पुस १८ गते राष्ट्रियसभा निर्वाचनको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

यस्तै, पुस २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने र सोही दिन मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।

आयोगले पुस २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्नेछ । पुस २३ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

आयोगले उम्मेदवारले नाम फिर्ता लिनका लागि पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ ।

पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान गर्नेछ ।

माघ ९ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको यसअघि नै तय भइसकेको छ ।

आयोगले सोही दिन अपराह्न ४ बजेपछि मतगणना कार्य सुरु गर्ने जनाएको छ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा गरिनेछ ।

१९ सदस्यको कार्यकाल सकिँदै

५९ सदस्यीय राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिँदैछ । तीमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन् । एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ ।

राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका ८, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका ७, राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनीत एक गरी १९ सदस्यको दुईवर्षे कार्यकाल आउँदो फागुन २० मा सकिन लागेको हो ।

कार्यकाल सकिनु ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यले राष्ट्रियसभा सदस्य चुन्नेछन् । निर्वाचन पहिलो हुने निर्वाचन हुने प्रणालीबाट गरिनेछ ।

निर्वाचन हरेक प्रदेशमा हुने र सोहीअनुसार प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ ।