भूकम्पको क्षतिलाई लिएर नौजना पक्राउ

0
Shares

टिराना, (एजेन्सी)।

अल्बानियामा गत महिना आएको भूकम्पको शिलशिलामा भवनहरु ढलेको सम्बन्धमा हत्या र पदीय अधिकार दुरूपयोग गरेको आशंकामा त्यहाँको सरकारले नौ जना व्यक्तिलाई गिरफ्तार गरेको छ। पक्राउमा परेका मध्ये दुई जना डुर्रेस शहरमा रहेका भूकम्पका कारण ढलेका दुईवटा होटेलका मालिक रहेका छन्।

सो शहर भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएका क्षेत्रहरुमध्ये एक हो। प्रहरीका अनुसार ती दुवै होटेल अवैध ढंगले निर्माण गरिएका हुन् भने एउटा होटलसँग त आवश्यक कानुनी कागजातसमेत छैन। सन् १९९० मा कम्युनिस्ट सरकार ढले यता अल्बानियामा अवैधानिक पुर्वाधार निमार्ण कार्यको होडबाजी नै चलेको देखिन्छ।

हालैको भूकम्पमा अल्बानियामा ५१ जना मानिसको ज्यान गएको थियो। गत २६ नोभेम्बरमा सबै सुतिरहेका बेला बिहान सबेरै आएको उक्त ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा १४ हजार मानिस घरबारविहिन हुन पुगेका थिए।

सरकारी वकिलले सुरक्षा मापदण्डमा हेल्चेक्र्याइँ गरेको आरोपमा १७ जना बिल्डर, इन्जिनियर र अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन्। प्रहरीले आंशकित अन्य ८ जनाको अझै खोजी भइरहेको बताएको छ।

भूकम्पको बेला १४ हजारवटा भन्दा बढी भवन नराम्ररी क्षतिग्रस्त भएका थिए। तर एपी समाचार निकायका अनुसार इन्जिनियरहरुले अझै पनि ढाँचागत रूपमा ती भवन सुरक्षित नै रहेको दाबी गरिरहेको बताएको छ।

कम्युनिस्टतन्त्र पतन भएसँगै नब्बेको दशकमा अधिकाशं मानिस ग्रामीण क्षेत्रबाट शहरमा बसाइँ सरेका थिए। त्यतिबेला तीव्र गतिमा भवन निर्माण हुँदा सरकारी निकायले राम्ररी अनुगमन गर्ने सकेको थिएन।