चीनमा सरकारी कार्यालयका विदेशी उपकरण हटाउन आदेश

0
Shares

बेइजिङ, (एजेन्सी)।

चीनले पश्चिमी प्रविधि तथा त्योसँग सम्बन्धित कम्प्युटर उपकरण देशको सबै सरकारी निकायबाट हटाउने कदम चालेको छ। चीनको साम्यवादी सरकारले सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुलाई आगामी तीन वर्षमा विदेशी कम्प्युटर, उनीहरुको उपकरण, हार्डवेयर तथा सफ्टवेयर हटाउन आदेश दिएको फाइनेन्सियल टाइम्सले जनाएको छ।

प्रविधिमा देश आत्मनिर्भर हुन ती डिजिटल उपकरणको स्थानमा देशमै बनेका कम्प्युटर उपकरण र सफ्टवेयर प्रयाग गर्न भनिएको अखबारले जनाएको छ।विदेशी प्रविधिमाथि रोक लगाउनाले डेल, एचपी, माइक्रोसफ्टजस्ता ठूला अमेरिकी कम्पनीलाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ।

चीन ती कम्पनीका अपरेटिङ सिस्टम र उपकरणका सबैभन्दा ठूलो उपभोक्तामध्येको एक हो। चीनको यस कदमलाई विशेषज्ञहरुले व्यापार युद्ध अब प्रविधिसित युद्धमा रूपान्तरण भइरहेको बताएका छन्। यसअघि अमेरिकाले चीनको प्रविधिलाई सीमित गर्नेे प्रयास गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसै वर्ष मे को शुरूआतमा अमेरिकी कम्पनीलाई चीनको टेलिकम कम्पनी हुवावेसँग कारोबार गर्न रोक लगाएका थिए। त्यतिबेला ट्रम्पले आगामी दुई दशकसम्म विश्वका दुई महाशक्तिबीच वास्तविक लडाइँ प्रविधिलाई लिएर हुने प्रष्ट पारेका थिए।

त्यसको लगत्तै गुगल, इन्टेल र क्वालकमले हुवावेसँगको कारोबार बन्द गर्ने घोषणा गरेका थिए।चीनका तीन वर्षभित्रै सबै हार्डवेयर तथा सफ्टवेयर बदल्नु सबैभन्दा ठूलो चुनौती हुनेछ।

किनभने यसमा विन्डोज, माइक्रोसफ्टजस्ता ठूला अमेरिकी कम्पनीको सफ्टवेयर प्रयोग भइरहेका छन्। तीबाहेक चीनको लेनोवोजस्ता कम्पनी पनि अमेरिकी चिप–प्रोसेसर प्रयोग गर्छन्।

सरकारी आदेशअनुसार कार्यालयबाट २ देखि ३ करोड विदेशी कम्प्युटर उपकरण अर्को वर्षसम्ममा स्वेदशीमा बदल्नुपर्नेछ। यो देशको सरकारी तथा सार्वजनिक कार्यालयमा प्रयोग भइरहेका कुल सिस्टमको ३० प्रतिशत हो। त्यसपछि सन् २०२१ सम्ममा ५० र बाँकी २० प्रतिशत विदेशी कम्प्युटर उपकरण सन् २०२२ सम्म बदल्न भनिएको छ।