आगलागीबाट ६३ लाखको क्षति

0
Shares

खोटाङ, (नेस)।

खोटेहाङ गाउँपालिका–७ मा घर जल्दा ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ। खोटाङबजारका माणिकलाल प्रधानको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त क्षति भएको हो।

प्रधानको मोबाइल र स्टेसनरी पसल भएको घरमा सोमबार राति साँढे १ बजे आगलागी हुँदा लाखौंको क्षति भएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनुभयो।

आगलागीमा प्रधानको घरमा रहेको वडा नम्बर ६ ईन्द्रेणीपोखरीका रमेश राईको मोबाइल पसल र खोटाङबजारकै घनश्याम फुयाँलको स्टेसनरी पसल पूर्णरूपमा जलेर नष्ट भएको छ। मोबाइल पसलबाट शुरू भएको आगलागीमा घर धनी प्रधानको करिब ३० लाख, मोबाइल पसल सञ्चालक राईको १८ लाख र स्टेसनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो।

प्रधानको परिवार भने काठमाडौंमा बस्दैआएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।