पृथ्वी जयन्तीमा सार्वजनिक विदा



नेपाल समाचारपत्र, गोरखा ।

गोरखा नगरपालिकाले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। कार्यपालिकाको बैठकले नगरपालिका मातहतका सबै सरकारी तथा सार्वजनिक संघसंस्थालाई विदा दिने निर्णय गरेको हो।

‘नगरपालिका माताहतका कार्यालयहरू जस्तो नगरपालिकाकै कार्यालय, वडा कार्यालयहरू, विद्यालय र स्वास्थ्य संस्थालाई आउँदो पुस २७ गते सार्वजनिक विदा दिने निर्णय भएको छ, प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठले भन्नुभयो–‘प्रदेश र संघ सरकार अन्तर्गतका कार्यालयहरूका लागि होइन, हाम्रो नगरपालिका मातहतका कार्यालयहरूमा मात्र यो निर्णय लागु हुनेछ।’

गोरखाका तत्कालिन राजा पृथ्वीनारायण शाहले गोरखाबाट नेपाल एकीकरणको जग बसालेकाले उहाँको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

गोरखामा हरेक वर्ष पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीनारायण शाहलाई सम्झिने गरिएको छ। गोरखाको तल्लो दरबार (गोरखा संग्राहलय)मा शाहको पूर्ण कदको शालिक निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्