भूकम्पपछि विद्यालयले पाए पुनर्जीवन



नेपाल समाचारपत्र, काभ्रे।

महाभारत गाउँपालिकामा रहेका ४९ वटा सामुदायिक विद्यालय भुकम्पबाट पूर्ण रुपमा क्षति भए पछि शुरु भएको पुनर्निर्माणले ७३ प्रतिशत सफलता प्राप्त गरेको छ। ३२ विद्यालयका ४४ वटा भवन निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अवस्थामा छन्।
विकटताकै कारण केही विद्यालयमा विनियोजन भएको रकम फिर्ता भएको छ।

‘चालु वर्ष निर्माण वर्षका रूपमा घोषणा गरेर अभियान शुरु गरेका छौं, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘भुकम्पले पूर्ण क्षति भएका अधिकांश विद्यालय पुनर्निर्माणको चरणमा छौं।’

जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत विभिन्न दाताहरूको सहयोगमा महाभारत गाउँपालिकामा विद्यालय पुननिर्माणका लागि १७ करोड ६४ लाख रकम विनियोजन भएको छ। जसमध्ये १२ करोड ३७ लाख पुनर्निर्माणमा खर्च भइसकेको छ।

ग्रामोन्नती मावि र भैरव मावि ठेक्का प्रकृयाद्वारा निर्माण शुरु भएको छ भने विद्यालय व्यवस्थापन समितिमार्फत केही विद्यालय निर्माण भइरहेका छन्। शिक्षा कार्यालय मार्फत १० वटा विद्यालयको मर्मत सम्भारभएको छ। ‘२०७७ साल चैत्रभित्र जिल्लाका सबै विद्यालयहरू पुनर्निर्माण सक्ने गरी कार्य अघि बढेको छ’–जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख द्वारिकाप्रसाद पोखरेलले भन्नुभयो–‘महाभारतलगायत विकट क्षेत्रमा विद्यालय भवन निर्माणमा भौगोलिक विकटताले चुनौती थपिएका छन्।’

विद्यालय पुनर्निर्माणसँगै शौचालय निर्माणमा जोड दिइएको छ। कार्यान्वयन इकाईले जिल्लामा एक सय ४० वटा शौचालय निर्माणको कार्यलाई तिब्रता दिएको छ। विद्यालयको भवनसँगै विद्यार्थीहरूको सहजताका लागि शौचालय निर्माण कार्यलाई प्राथमिकतामा राखी कार्य शुरु गरिएको इन्जिनियर सोभित श्रेष्ठले बताउनुभयो।

महाभारत गाउँपालिकामा रहेका १४ वटा विद्यालयको अनुगमन भएको छ। ग्रामोन्नती माविमा एडीवीको ऋण सहयोगमा आठ करोड ६४ लाखको २१ कोठे दुई वटा भवन निर्माण भइरहेका छन्। पाँच सय ५० विद्यार्थी रहेको उक्त विद्यालय महाभारत क्षेत्रकै धेरै अनुदान प्राप्त गर्ने विद्यालय हो। विद्यार्थीको अनुपातमा शिक्षक नरहेको उक्त क्षेत्रमा बालबालिकाहरू घण्टौ हिडेर आउने गरेका छन्।

ग्रामोन्नती मावि, शुभकामना प्रावि, भैरवेश्वर आधारभूत विद्यालय, सिद्धेश्वर मावि, जनमोहन मावि, आजाद आधारभूत विद्यालय, जनकल्याण आधारभूत विद्यालय, ज्योती आधारभूत विद्यालय, गौलेश्वरी आधारभूत विद्यालय, जनकल्याण मावि, चन्द्रोदय प्रावि, भैरव मावि, गोकुले मावि, हायुखोला प्राविको अनुगमन गरी तत्काल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै निर्माण सम्पन्न भएका विद्यालयहरूमा फर्निचर, तारबार, शौचालय निर्माणको कार्य गर्ने योजना बनाइएको छ।

महाभारत गाउँपालिका–६ बनखु गोल्टारमा रहेको गौलेश्वरी आधारभूत विद्यालयको चार कोठे भवन तीन वर्ष वितिसक्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन। ६२ लाख २७ हजार एक सय ९१ रुपियाँ लागत रहेको उक्त विद्यालय भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिले स्थानीय ठेकेदार रामबहादुर योञ्जनलाई ठेक्का दिएको थियो।

समयमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरी विद्यालयले जिम्मेवारी दिए पनि योञ्जनले भवन निर्माणमा आलटाल गरेका छन्। ‘हामीबाट उहाँले पटक पटक रकम लैजानु भयो तर समयमै निर्माण गरिदिनु भएन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बजुले भन्नुभयो– ‘एउटा भवन सम्पन्न गर्न नसक्दा अर्काे भवन र शौचालय निर्माणमासमेत असर पर्यो।

बालबालिकाहरूलाई बाँसको टहरामा पढाउन बाध्य हुनु परेको छ।’ समयमै काम सम्पन्न गर्न गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख द्वारिकाप्रसाद पोखरेल, इन्जिनियर सोभित श्रेष्ठसहितको टोलीले अन्तिम चेतावनी दिएर फर्किएको छ।

एक सय ५२ जना विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा कोठाको अभावमा बालबालिकाहरू टहरामा बस्न बाध्य छन्। प्रधानाध्यापक हिराबहादुर राना मगरले अन्तिम पटक दिएको समयावधिभित्रै निर्माण सम्पन्न गर्ने गरी कार्य गरेको बताउनु भयो। ‘ठेकेदारको असहयोग र लापरवाहि, भौगोलिक विकटताका कारण ढिलाई भएकाले आत्मालोचित हुन्छौं, प्रधानाध्यापक हिराबहादुर राना मगरले भन्नुभयो–‘हाम्रो कारण बालबालिकाहरूलाई समेत असर परेको छ।’ निर्माण सम्पन्न नहुँदै आयोजना कार्यान्वयन इकाईले ५५ लाख रकम भुक्तानी गरिसकेको छ।

जनकल्याण आधारभूत विद्यालय वनखु–७ मा रहेको विद्यालयको पुनर्निर्माणमा ढिलाई भएको छ। दुर्गम क्षेत्र सडकको विकटताको कारण भवन निर्माण ढिलाई भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर लोले बताउनुभयो। भौगोलिक विकटताका कारण महाभारतका तीन विद्यालयमा विनियोजन गरिएको भवन निर्माण शीर्षकको रकम फिर्ता भएको छ।

कोखादेवी प्रावि, वनखु, सरस्वती प्रावि घ्याप्रिङ, जनकल्याण प्राविमा सडक नहुँदा निर्माण सामाग्री लैजान कठिन भएकाले रकम फिर्ता भएको इन्जिनियर सोभित श्रेष्ठले बताउनुभयो।

‘कुनै विकल्प छैन, न विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी लिन्छ, न ठेक्कामा लगाउन सकिन्छ, इन्जिनियर सोभित श्रेष्ठले भन्नुभयो–‘बालबालिकाहरू टहरामा छन्, पैसा छ, भवन बनाउन सकिएको छैन। भवन निर्माण गर्न नसक्दा रकम फिर्ता गर्नुपर्यो।’

महाभारतका केही विद्यालयहरूमा १० किलोमिटर भन्दा टाढाबाट सामाग्री बोकेर विद्यालय भवन निर्माण गरिएको छ। गौरी निमावि वडा नम्वर ५, दिव्य ज्योती प्राविमा सडक पुग्न नसक्दा भवन निर्माण भए पनि शौचालय निर्माण हुन सकेको छैन। ४ घण्टाको दुरीमा सामान बोकेर निर्माण गरिएका विद्यालयमा बालबालिकाहरूले अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्