चिनियाँ दूतावासद्वारा प्रहरीलाई २३ मोटरसाइकल

0
Shares

नेपाल समाचारपत्र, काठमाडांै ।

नेपालस्थित चिनियाँ दूतावासले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई ५६ लाखबराबरको २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावास प्रथम सचिव वाङ साओ लङले ती मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो।

सो अवसरमा चिनियाँ दूतावास प्रथम सचिव वाङले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सीसीटिभी कक्षको अवलोकन गर्नुभएको थियो।कार्यक्रममा प्रहरी नायब महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागि चिनियाँ दूतावासलाई धन्यवाद दिनुभएको थियो।

उपलब्ध भएका २३ वटा मोटरसाइकललाई आवश्यकताअनुसार काठमाडांै, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयलाई वितरण गरिनेसमेत उहाँले जानकारी दिनुभयो। चिनियाँ दूतावासका प्रतिनिधि वाङले मोटरसाइकल हस्तान्तरण कार्यक्रमले शदियौंदेखिको नेपाल चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्दै मोटरसाइकलको सहयोग यसै प्रगाढ सम्बन्धको प्रतीक भएको विचार व्यक्त गर्नुभयो।

उक्त सहयोगले काठमाडौं उपत्यकाका अत्याधिक जनघनत्व र भौतिक संरचनाका कारण चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अवस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने विश्वास लिइएको छ।