ट्राफिक उज्यालो अभियान शुरू

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले समुदाय–प्रहरी साझेदारीअन्तर्गत ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ शुभारम्भ गरेको छ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेस थापा क्षेत्रीले समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत जनचेतनाको निम्ति सडक सुरक्षा कार्यक्रम एजेन्डाका रूपमा रहेको चर्चा गर्दै यस अभियान कार्यान्वयनका लागि सरोकारवाला निकायहरूको सहकार्य अतुलनीय रहेको उल्लेख गर्नुभयो।साथै मानवीय त्रुटिमा कमी ल्याई सवारी दुर्घटनामा न्यूनिकरण गर्न अभियान सफल बनाउनुपर्ने समेत उहाँले बताउनुभयो।कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष सोम तामाङ र हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्माले अभियानको महत्व तथा सफलताको शुभकामना सहित आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।

महानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अभियान बारेमा जानकारी दिनुभएको उक्त कार्यक्रममा सोही महाशाखाका प्रहरी उपरीक्षक राजकुमार वैदवारले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो।

महानगरीय ट्राफिक प्रहरी माहाशाखाको आयोजना र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीको सहकार्य र सक्रिय सहभागितामा ट्राफिक नियम सम्बन्धी चेतना अभिवृद्धि गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्ने उद्देश्यले उक्त अभियान सुभारम्भ गरिएको हो।

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्याउने, ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वतः आम प्रवृत्तिको रूपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने, सडक दुर्घटनालाई न्यूनिकरण गरी धनजनको क्षति कम गर्ने, ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई नागरिकमैत्री बनाउँदै जनविश्वास आर्जन गर्ने र काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउने उक्त अभियानको प्रमुख उद्देश्य रहेको महानगरीय ट्राफिक प्रहरी माहाशाखाले जनाएको छ।

सो महाशाखा तथा मातहतका ४० वटा ट्राफिक कार्यालयले लक्षित समूह पहिचान गरी अभियान सञ्चालन गर्ने र तीन महिनामा एक लाख जनालाई सचेतना गराउने लक्ष्य रहनुका साथै समुदाय–प्रहरी साझेदारीमा आवद्ध पदाधिकारीसँग समन्वय गरी पर्चा, पम्पलेट, स्टिकर वितरण र श्रव्यदृश्य प्रदर्शनीमार्फत ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्षा लिने तथा स्कुल–कलेजका विद्यार्थीलाई कलेज र विद्यालयमै गएर कक्षा लिने उक्त अभियानअन्तर्गत कार्ययोजना रहेको कार्यक्रममा जानकारी दिइयो।

महाशाखाअन्तर्गत रहेका १ सय ३० जना ट्राफिक प्रहरी सो अभियानमा सामेल हुने भएका छन्। उक्त तीन महिने अभियानमा १ लाख जनालाई सचेतना गराइने महाशाखाले जनाएको छ।

उक्त अभियानमा सार्वजनिक सवारी चालक/सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार, सरकारी सवारी चालक ५ हजार, पैदलयात्री २० हजार र विद्यार्थी ३० हजारलाई सहभागी गराउने उद्देश्य महाशाखाले लिएको छ।