तराईमा शीतलहर शुरू

0
Shares

बाँके, (नेस)।

बाँकेमा शितलहर शुरु भएको छ। एक्कासी तापक्रम तल झरेपछि चिसो भएको हो। मंगलबार यस क्षेत्रमा सूर्यको दर्शन नै भएन। बिहान हुस्सुसँगै शीतका थोपा खसेका थिए। दिनभरि नै चिसो हावा चल्दा र घाम नलाग्दा जनजीवन प्रभावित भएको छ।
चिसोले गर्दा स्थानीय बासिन्दा घरआँगनमा आगो तापेका देखिन्थे। नेपालगन्ज जमुनाहा नाकामा भारत जाने र फर्किनेका लागि प्रहरीले आगोको व्यवस्था गरेको छ। दैनिक ठूलो चहलपहल हुने यो नाकामा प्रहरीले गरेको आगो ताप्ने व्यवस्थाले यात्रुहरूले केहीबेर भए पनि तातो हुने मौका पाएका छन्।

नेपालगन्ज नाकाबाट यतिबेला मजदुरीका लागि भारत जाने पहाडी जिल्लाका बासिन्दाको लाम नै लागेको छ। हिउँदे खेतीपाती सकेर पहाडी जिल्लाका मानिसहरू मजदुरीका लागि भारततिर हानिएका छन्। इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार यतिबेला दैनिक ५÷६ सय बासिन्दा भारततिर कामका लागि गइरहेका छन्।