विद्या भट्टराई संसद् प्रवेश 

0
Shares

काठमाडौं, (नेस)।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ। उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संघीय संसद् सचिवालयमा मंगलबार उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

गत मंसिर १४ गते भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भट्टराई कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो। शपथपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधानले निर्दिष्ट गरेको भूमिकामा रहेर काम गर्ने बताउनुभयो।

उहाँले नीति निर्माण र विकास निर्माणबारे जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो।

शपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुुरुङ, संघीय संसद्का विभिन्न विषयगत समितिका सभापति, सांसद तथा संसद् सचिवालयका महासचिवलगायतको सहभागिता रहेको थियो।