प्रहरीको हतियार खोसेर प्रेमी फरार

0
Shares

आरके सिंह, जनकपुरधाम ।
उच्च अदालत जनकपुरका न्यायाधीशको सुरक्षागार्डमा खटिएकी प्रहरी जवानको हतियार हराएको छ। न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षागार्डमा खटिएकी प्रहरी जवान रनिताकुमारी केवटको हतियार हराएपछि अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ।

प्रहरी जवान केवटले ७ राउन्ड गोली लोड भएको पेस्तोल हराएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको हो। प्रहरी जवान केवट र उनका प्रेमी सिवेन्द्र यादवबीच विवाद हुँदा प्रेमी सिवेन्द्र उनको हतियार खोसेर फरार भएको प्रहरी स्रोतले बताएको छ।

नवलपरासी देउडा घर भएका यादव र प्रहरी जवान केवट केही दिनदेखि सँगै जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा लिएर बस्दै आएकोमा सोमबार दुवै बीच विवाद भएको थियो। विवाद भएपछि यादवले पे्रमिका प्रहरी जवानले बोकेको हतियार लिएर फरार भएको प्रहरी स्रोतले बतायो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले प्रहरी जवान रनितालाई जिल्ला प्रहरी कार्यालय झिकाइएको बताउनुभयो। राति घरमा प्रेमीसँग विवाद र कुटपिट गरेकाले न्यायाधीशको सुरक्षाबाट हटाई उनलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको कार्कीले बताउनुभयो। सिवेन्द्रले आफूले प्रहरी जवान केवटको हतियार बोकेर फरार भएको कुरा असत्य रहेको दाबी गरे।

प्रहरी जवान रनिता र उनका प्रेमी सिवेन्द्रबीच विवाद र सामान्य धक्कामुक्की भए पनि हतियार बोकेर फरार भएको कुरा झुटो रहेको डीएसपी कार्कीको भनाइ छ। ‘दुवै जनाबीच आन्तरिक कारणले विवाद हुँदा सामान्य धक्कामुक्की भएको हो। तर, सिवेन्द्रले हतियार बोकेर भागेको कुरा हल्ला मात्र हो।’ –कार्कीले भन्नुभयो।

तर, प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी जवान केवटले बोकेको हतियार हराएको पुष्टि गरेको छ। उनले बोकेको हतियार प्रेमी सिवेन्द्रले खोसेर फरार भएको वा हराएको विषयमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो।
‘कानुनबमोजिम लिएको हतियार हराएको भन्ने सूचना मंगलबार हामीलाई प्राप्त भएको छ। हराएको हो वा कसैले लिएर भागेको हो त्यो अनुसन्धानको विषय हो।’ –प्रहरी प्रवक्ता डीएसपी महतोले भन्नुभयो।