उपरथी हमाल फोर्स कमान्डर 

14
Shares

काठमाडौं, (नेस)।

मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरमा नेपाली सेनाका उपरथी ईश्वर हमाल चयन हुनुभएको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालयले उपरथी हमाललाई उक्त मिसनको हेड अफ मिसन र फोर्स कमान्डरमा नियुक्त गरेको छ। तर, राष्ट्रसंघले उक्त निर्णय भने सार्वजनिक गरेको छैन।

हाल आर्मी कमान्ड तथा स्टाफ कलेज कमान्डान्टका रूपमा कार्यरत रहनुभएका हमाल नेपाली सेनाका अब्बल अधिकृतका रूपमा चिनिनुहुन्छ। राष्ट्रसंघको मुख्यालयले उहाँको नियुक्तिका बारेमा केही दिनभित्रै सार्वजनिक गर्ने सैनिक मुख्यालय स्रोतले जानकारी दियो।

सन् १९८५ बाट नेपाली सेनामा प्रवेश गर्नुभएका हमालले नेपाली सेनाद्वारा प्रदान गर्र्ने सबै तालिममा उत्कृष्टता हासिल गर्नुभएको छ।

गुल्म, गण, वाहिनी र पृतनाको नेतृत्व गरिसक्नुभएका हमाल नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गर्नुभएको थियो।

उपरथी हमालले लेबनान, युगोलास्भिया, आइभरिकोेस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसक्नुभएको छ।