सार्वजनिक र सरकारी भवनमा साइकल स्ट्यान्ड अनिवार्य गर्ने तयारी 

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।

साइकल लेन निर्माणमा अग्रणी बनेको ललितपुर महानगरपालिकाले अब बन्ने सरकारी र सार्वजनिक संघसंस्थाको भवनमा साइकल स्ट्यान्ड बनाउनुपर्ने नियमलाई अनिवार्य गर्ने  भएको छ। साइकल लेनसम्बन्धी ऐनका बारेमा छलफल गर्न मंगलबार ललितपुरमा आयोजित कार्यक्रमा महानगरका प्रमुख चिरीबाबु महर्जनले उक्त कुरा बताउनुभएको हो।

उहाँले भन्नुभयो– ‘साइकलयात्रीलाई प्रोत्साहित गर्न यस्तो नियम ल्याउँछौं , साइकल स्ट्यान्ड नबनाएको त्यस्ता भवनको नक्सा पास हुँदैन।’ उहाँले घर निर्माण सम्पन्नको प्रमाणपत्र साइकल स्ट्यान्डबिना महानगरले नदिने स्पष्ट पारे। ललितपुर महानगरपालिकाले १५ दिनअघि साइकल लेन निर्माण कार्यको शुरुआत गरेको छ।

ललितपुर महानगरपालिकाभित्र पहिलो चरणमा करिब ५ किलोमिटर साइकल लेन निर्माण हुँदै छ। ललितपुरको कुपण्डोलबाट लगनखेलसम्म र लगनखेलबाट मंगलबारसम्म निर्माण हुन लागेको हो।

महानगरका प्रमुख महर्जनले साइकलयात्रीको सुरक्षालाई ध्यान दिएर पुस महिनाभित्र हुने हिउँदे अधिवेशनबाट साइकल लेनसम्बन्धी ऐन पारित गर्ने बताए । महानगरका कानुन महाशाखा प्रमुख खगेन्द्र वस्तीले ऐन, नीति र कार्यविधिमार्फत साइकल लेनलाई व्यवस्थित गर्न सकिने बताउनुभयो।

कार्यक्रममा विश्व साइकलयात्री पुष्कर शाहले साइकलको यात्रा सबैभन्दा सुरक्षित भएको बताउँदै सडकमा गुड्ने अन्य सवारी साधनका कारण साइकलयात्री जोखिममा परेको बताउनुभयो। ललितपुर महानगरले बनाउने ऐन साइकल प्रयोगकर्ताको हितका लागि हुनुपर्ने स्पष्ट पारे।

उनले सातामा एक दिन मात्रै निजी चार पांग्रे र मोटरसाइकलको प्रयोग रोक्ने हो भने एक दिनमा १२ करोड रुपियाँ बचत हुने जानकारी दिनुभयो। साइकल सिटी नेटवर्क नेपालका संस्थापक अध्यक्ष शैल श्रेष्ठले महानगरले बनाउने ऐन साइकल प्रयोगकर्ताको सुरक्षामा केन्द्रित हुनुपर्ने बताउनुभयो।

कार्यक्रमका सहभागीहरूले साइकल यात्रीलाई सडकमा अवरोध गर्ने, साइकल लेनमा अवरोध पुर्याउनेलाई दण्ड र जरिवानाको व्यवस्था ऐनमा नै गर्नुपर्ने माग गरेका छन्। उनीहरूले ललितपुरलाई साइकल सिटीका रुपमा विकास र बिस्तार गर्न साइकल प्रयोग कर्ताको बीमा अनिवार्य गर्नुपर्ने बताए।

उनीहरूले बन्न लागेको ऐनले साइकल, मोटर र मान्छेबीचको सम्बन्धलाई सम्बोधन गर्नुपर्ने बताए। महानगरले बनाउने यो नीतिले दीर्घकालिन असर छोड्ने बताउँदै साइकलमैत्री शहर बनाउन सहयोग गर्ने बताउनुभयो।

साइकल सोसाइटीका अध्यक्ष रामरत्न श्रेष्ठले साइकल लेन सम्बन्धी कानुन, साइकल प्रयोगकर्ताको हितमा बन्नुपर्ने बताउनुभयो।