काठमाडौं ।
नेपालको भूभाग संरक्षण गर्नका लागि सबै एकताबद्ध भएर कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
नेपाल बार एसोसिएशनले आज यहाँ आयोजना गरेको ‘सीमा अतिक्रमण: समस्या समाधान उपाय’ विषयक अन्तरक्रियामा पूर्व सांसद रमेश लेखकले राष्ट्रिय सवालमा सबै एकजुट भएकाले कूटनीतिक तथा राजनीतिक माध्यमबाट समाधान खोज्न सरकारलाई सुझाव दिनुभयो ।
सरकार अगाडि बढ्दा समाधान गर्न सहज हुने भन्दै उहाँले नेपाल र भारत दुवै देशमा शक्तिशाली सरकार भएको हुनाले दुई देशका सरकारबीच नै वार्तामार्फत समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ अधिवक्ता युवराज सङ्ग्रौलाले नेपालको भूभाग सबै मिलेर संरक्षण गरी भूभागको उपयोग गर्नुपर्ने सुझाव दिनुभयो । नेपालले प्रयोग नगरेको भूभाग भारतले आफ्नो नक्सामा राखेको भन्दै उहाँले कूटनीतिक पहलमार्फत समाधान खोज्नुपर्ने जोड दिनुभयो ।
विश्लेषक श्याम श्रेष्ठले सम्पूर्ण राजनीतिक दल मिलेर एक मतका साथ कूटनीतिक र राजनीतिक पहलबाट समाधान खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपालको नक्सामा लिम्पियाधुरा छुटेको हुनाले पूर्ण नक्सा बनाउन माग गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षणसमेत गराएको जानकारी गराउनुभयो । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपालको भूभागको संरक्षण र नेपालको नक्सा सही निर्माणका लागि सबैको पहल जरुरी भएको हुनाले छलफलको आयोजना गरेको जानकारी दिनुभयो ।
रासस
प्रतिक्रिया