सदाबहार अस्पतालको अभियान : गाउँ गाउँमा निशुल्क स्वास्थ्य शिविर

0
Shares

नानीराम नेपाल,सिन्धुपाल्चोक ।

खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालले गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर संचालनको अभियान सुरु गरेको छ । सोमबार बलेफी गाउँपालिका ४ स्थित सेतिदेवी माध्यमिक बिद्यालयमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै सदाबहारले अभियान थालनी गरेको हो ।


गाउँमै ३ जना डाक्टर आउँदा सोमबार बलेफी ४ को गहतेका स्थानीयमा खुसियाली छायो । बर्षौसम्म स्वास्थ्यजाँच नगरेकाहरुले घरआँगनमै निशुल्क रुपमा स्वास्थ्य जाँचको अवसर पाए । सिन्धु सदाबहार अस्पतालको आयोजना तथा वडा कार्यालय र सेतिदेवी माविकाृ समन्वयमा संचालित स्वास्थ्य शिविरमा ३ सय ५० भन्दा बढिले सेवा लिएका छन् ।

शिविरमा सेतिदेवी मावि, करङगैरा आवि र यसभेगका स्थानीय गरि ३ सय ५४ जनालाई सेवा प्रदान गरिएको सिन्धु सदाबहार अस्पतालका व्यवस्थापन प्रमुख राम आचार्यले जानकारी दिनुभयो । शिविरमा स्कुले बालबालिकाका रगत परीक्षण गरिएको थियो । स्कुलमै आफ्नो रक्त समुह पहिचान गर्न पाएपछि स्कुले बालबालिकाहरु खुसी देखिन्थे ।

स्वास्थ्य शिविरमा अधिकांश स्थानीयका स्त्रीरोग, छाला तथा हाडजोर्नीका समस्या पहिचान गरि उनीहरुलाई थप उपचारका लागि सुझाइएको छ । सिन्धु सदाबहार अस्पतालका स्त्रीरोग बिशेषज्ञ डाक्टर रोशन श्रेष्ठका अनुसार यसभेगमा स्त्रीरोग, हाडजोर्नी र छालारोगका बिरामी धेरै भेटिएका छन् ।

उनीहरुको रोग पहिचान गरि थप उपचारका लागि परामर्श प्रदान गरिएको छ । सामान्य खालका बिरामीहरुलाई आवस्यक्ता अनुसार औषधी समेत निशुल्क रुपमा वितरण गरिएको थियो ।

हाडजोर्नी र नसाका समस्या लिएर झण्डै एक सय बिरामीहरु शिविरमा आएको डाक्टर राजु दंगालले बताउनुभयो । रोग पहिचान गरिएका बिरामीहरुलाई अस्पतालमा आउनका लागि आग्रहसमेत गरिएको छ ।

‘स्वास्थ्य जाँचका लागि स्थानीयको भीड नै लाग्यो, एक सय हाराहारीमा नसा र हाडजोर्नीका बिरामी पहिचान भएका छन्’, डाक्टर दंगालले भन्नुभयो, ‘उपचारका लागि उहाँहरुलाई अस्पतालमा आउन आग्रह गरेका छौंं ।’

शिविरमा सिन्धु सदाबहार अस्पतालका डाक्टर रोशन श्रेष्ठ, राजु दंगाल र सपना शाह स्थानीयका स्वास्थ्य जाँचका लागि खटिनुभएको थियो । शिविरको सहजीकरणका लागि सदाबहार नर्सिङ कलेजमा अध्ययनरत बिद्यार्थीहरु पनि सहभागी थिए ।

स्वास्थ्यप्रति बिद्यार्थीलाई सचेत गराउँनका लागि स्वास्थ्य शिविरको पहल गरेको सेतिदेवी माविका प्रअ कृष्ण पराजुलीले बताउनुभयो । सिन्धु सदाबहार अस्पतालसँग समन्वय गर्दै आगामी दिनमा वडाका अन्य गाउँबस्तीमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै जाने वडाध्यक्ष तामाङ बताउनुहुन्छ ।