साहुखलले च्यासललाई जित दिलाए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

पूर्व राष्ट्रिय स्ट्राइकर सन्तोष साहुखलले उच्च प्रदर्शन गर्दै च्यासल युवा क्लबलाई जारी सहिद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गराएका छन्।

च्यासलका कप्तान साहुखलले सोमबार दशरथ रंगशालामा भएको खेलमा २ गोलको योगदान गरेपछि च्यासलले संकटा क्लबलाई २–० ले हराएको हो। साहुखलले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा एक गोल गरेका हुन्।

प्लेयर अफ द म्याच घोषित उनले ४१औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रतामा राखेका थिए। दोस्रो हाफमा भने संकटा १० खेलाडीमा सीमित भएपछि त्यसको फाइदा च्यासलले लिन सफल भएको थियो।

८१औं मिनेटमा टोलीका भरपर्दा स्ट्राइकर लक्ष्मण रुचालले दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिनु परेको थियो। उनले २ मिनेटमा दुई वटा कार्डको सामना गर्नु परेको थियो।

यसको ४ मिनेटमा साहुखलले गोल गरेर आफ्नो टोलीलाई सुनिश्चित जिततिर अग्रसर गराए। तर यो गोलले संकटाको खेलमा फर्कने आशा समाप्त भएको थियो। यसअघि सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कठिन जित निकालेको थियो।

आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले हराएको थियो। टोलीका जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरेका थिए। नवयुगले खेलको चौथो मिनेटमै गोल गरेर टोलीलाई १–० को अग्रता दिलाएका थिए।तर ५१औं मिनेटमा शक्ति राईले गोल फर्काउँदा फ्रेन्डस्ले खेल १–१ बराबरी पुर्याए।

८१औं मिनेटमा दिनेशले गोल थपेपछि आर्मीको जित सुनिश्चित भएको थियो। उनले विमल पाण्डेको हेड बलमा अनमार्क रहेका दिनेशले गोल गरेका थिए। यो नतिजासँगै आर्मी र च्यासलले ३/३ अंक जोडेका छन्।