पीपीएल धनगढी ५ रनले विजयी

0
Shares

विजय नेपाली, पोखरा।

एक्सपर्ट धनगढीले दोस्रो संस्करणको पोखरा प्रीमियर लिग (पीपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा रोमाञ्चक जित हात पारेको छ। पोखरा रङ्गशाला क्रीकेट मैदानमा सोमबार भएको खेलमा धनगढीले विराटनगर टाइटान्सलाई ५ रनले हराएको हो।

१ सय १८ रनको लक्ष्य दिएको धनगढीले विराटनगरलाई १ सय १२ रनमै रोकेर जित निकाल्न सफल भयो। विराटनगरका लागि राजु रिजालले सर्वाधिक २५ रन बनाए भने सुनिल धमलाले १८ रन जोडेका थिए।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट प्राप्त पारे। यस्तै सागर ढकालले २ तथा कमल सिंह ऐरी, अनिल खरेल र अमित यादवले समान १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले ८ विकेटको नोक्सानीमा १ सय १७ रन बनाएकोे थियो। टोलीका लागि कमल सिंहले सर्वाधिक २६ रनको योगदान दिए। यस्तै श्रीमन्थ विजयारत्नेले २५ रन बनाएका थिए। रोडगो थोमसले १६ रन बनाउने बाहेक अरूको प्रदर्शन उल्लेख्य रहेन।

विराटनगरका लागि साहब आलमले सर्वािधक ३ विकेट लिए। यस्तै मुहम्मद जेद आलम, किशोर महतो, नोमान खान र पुनित मेहराले समान १/१ विकेट लिए। म्यान अफ दि म्याच धनगढीका दिपेन्द्र सिंह ऐरी घोषित भए।

सुपर ओभरमा बुटवल विजयी

यसैगरी अर्को खेलमा बुटवल ब्लास्टर्सले काठमाडौं गोल्डेन्स वारियर्सलाई सुपर ओभरमा पराजित गरेको छ। यो काठमाडौंको लगातार दोस्रो हार हो। पहिलो दिन काठमाडौं पोखरा पल्टनसँग पराजित भएको थियो।

दुबै टोलीले १ सय ४० रन बनाएपछि नतिजा निकाल्न सुपर ओभरको सहारा लिएको थियो। बुटवलले १२ रन बनायो भने काठमाडौंले मात्र २ रन जोड्न सकेको थियो।

बुटवलका लागि हर्ष टंकले ९ रन बटुलेका थिए। काठमाडौका गौरब तोमरले २ रन बनाएर आउट भए भने सुबोध भाटी र कोश्वलाले रन जोड्न सकेनन्।