सबै वडा कार्यालय सुविधा सम्पन्न बनाइने



नेपाल समाचारपत्र, काभ्रे।

पनौती नगरपालिकाले सबै वडा कार्यालको भवन सुविधा सम्पन्न बनाउने भएको छ। सोमबार पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले वडा नम्बर ४ को भवन शिलान्यास गर्दै सो कुरा बताउनुभएको हो।

साँघुरो तीनवटा कोठाबाट वडा कार्यालय सञ्चालन भइरहेको वडा भवन सुविधा सम्पन्न तीन तले भवन बनाइने नगरपालिकाका इन्जिनियर प्रेमकुमार सोनामले बताउनुभयो।

सो भवन निर्माणको लागि ४ करोड ७५ लाख ६ हजार रुपियाँ बजेट छुट्टाइएको छ। १७ महिनामा तयारी बनाउने योजनाका साथ शिलान्यास गरिएको वडा भवन अपाङ्गमैत्री हुनेछ।

वडाध्यक्ष बुद्धसिंह थापाका अनुसार नयाँ भवन निर्माण पछि आधारभूत सेवा सबै तल्लो तलाबाटै सम्पन्न हुनेछ। इन्जिनियर सोनामका अनुसार ह्वीलचेयरबाट माथि जान नपर्ने गरी तल्लो तल्लामै सबै आधारभूत सेवा उपलब्ध हुने गरी भवनको डिजाइन गरिएको छ। पनौती नगरपालिकाले १२ वटै वडामा एउटै डिजाईनको भवन बनाउने योजना बनाएको छ।

वडा नम्बर ३ को भवन निर्माण कार्य शुरु भइसकेको छ भने १ नम्बर भवनको पुनर्निर्माण गर्नुपर्ने छ। नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार वडा नम्बर २ र ६ को भवन मर्मत गरे हुने र वडा नम्बर ५ को भवन नयाँ बनाउन जग्गा व्यवस्थापन गर्ने कार्य भइरहेको छ।

वडा नं ६ को कार्यलय साँघुरो भएकोले त्यसको पनि व्यवस्थापन गर्ने योजना रहेको वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताउनु भएको छ। नगरको वडा नम्बर ७, १० र ८ को कार्यालय अहिले ठिकै रहेको उहाँले बताउनुभयो।

वडा नम्बर ९ को नयाँ भवन निर्माणको लागि जग्गा खरिद भइसकेको छ। वडा नम्बर ११ को भवन केहि मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ भने वडा नं १२ कार्यालय सबैभन्दा संकटमा रहेको नगरपालिकाले बताएको छ।

नयाँ भवन निर्माण गर्दा सडकसँग जोडिएको, अन्य सुविधालगायत स्वास्थ्य चौकी पनि वडा भवनमै हुने गरी बनाउने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्