उत्पादनमूलक कार्यक्रम थालनी गर्न सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं मेट्रोपोलिटन सिटी हब (के–हब) कार्यक्रम थालनी गर्न काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)बीच सम्झौता भएको छ।आइतबार आयोजित कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच युवाहरूका लागि उद्यमशीलतामा आधारित तथा उत्पादनमूलक कार्यक्रम थालनी गर्न सम्झौता भएको हो।

उक्त कार्यक्रममा प्रमुख शाक्यले भन्नुभयो– ‘हामीले सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर शहरी युवाका लागि यो कार्यक्रम थालनी गर्न लागेका हौं। यो कार्यक्रममा आफ्नो ठाउँमा कमाई हुने सम्भावना नदेखेर श्रमका लागि विदेश जानुपर्ने अवस्थाका शहरी युवालाई सहभागी गराइनेछ। काठमाडौंबाहिरबाट आएका हजारौं व्यक्तिले यहाँराम्रो आय आम्दानी गरिरहेका छन् भने यहाँका युवाले कमाउन नसक्ने होइन।

सोच भएका तर कसरी गर्ने भनेर अलमलमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको उद्देश्य हो। यसका लागि महानगरले लगानी गर्छ र आवश्यकताअनुसार क्रमशः लगानी साझेदारिता बढाउँदै लैजान सकिनेछ। उहाँले भन्नुभयो– ‘कार्यक्रममा शहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले सानातिना उद्यमशील प्रयासबाट शहरमा ठूलो प्रभाव ल्याउन सक्छ।’

यसका लागि युवाहरूलाई सम्भावना देखाउने कोसिस गरिने उपाध्यक्ष बस्नेतको भनाइ थियो। नेपालबाट युवा पलायन हुँदा बौद्धिक पलायन मात्र होइन, यसबाट देशको आय ऊर्जामा पनि कमी आएको छ। शहरी योजना आयोगका सदस्य डा. कीर्ति कुसुम जोशीले कार्यक्रम सञ्चालनमा आइसकेपछि बाध्य भएर विदेश जानुपर्ने अवस्थामा कमी आउने बताउनुभयो।

सम्झौताअनुसार निश्चित अवधिमा आफू रोजगार बन्ने र अरुलाई रोजगारी दिने गरी युवालाई प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन हुनेछ। उहाँका अनुसार आगामी साढे २ वर्षभित्र कम्तीमा ५ वटा उद्यम सञ्चालन हुनेछन्।

सम्झौतापछि बोल्दै आवासीय प्रतिनिधि लबेले स्थानीय स्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा वस्तुलाई बिक्री योग्य बनाउने र उत्पादिन सामानलाई बजारको पहुँचमा पुर्याउने लक्ष्यसहित यो कार्यक्रममा यूएनडीपी सहभागी भएको हो। कम लागतमा गुणस्तरीय वस्तु उत्पादन, ढुवानी, भन्डारण र वितरण व्यवस्थाका लागि युवालाई प्रोत्साहित गर्नुपर्छ, लबेको भनाइ थियो।

सम्झौताबमोजिम शुरुआतमा कार्यक्रम सञ्चालनको विधि तथा प्रक्रिया, सहभागी युवा छनोट प्रक्रिया, यसको दिगोपनाजस्ता विषयमा अध्ययन र कार्यक्रम सञ्चालन ढाँचा तयार पारिनेछ।

‘नवीन सोच निर्माण र कार्यान्वयन’ का लागि संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानीबाट सञ्चालन हुने काम, साझा कार्यक्रमको कार्यक्षेत्रजस्ता विषय पहिचान अहिले गरिनेछ काम हुन्। छनोट गरिएका कार्यक्रमबाट अधिकतम लाभ लिन कार्यक्षेत्र र मार्गनिर्देशन तयार पार्ने विषय अहिले सम्झौतापत्रमा उल्लेख छ।