छुरा प्रहार गरी फरार रहेका तीन पक्राउ

0
Shares

भक्तपुर, (नेस)।

भक्तपुर नगरपालिका १० कमलविनायक बस पार्कनजिक एक व्यक्तिलाई छुरा प्रहार गरी फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–३ वंशगोपाल बस्ने वर्ष १९ को रामशेखर शिलाकार सोही ठाउँ बस्ने वर्ष १९ को समिर मंक र सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–६ घर भई हाल बोडे भक्तपुर बस्ने प्रवीण बस्नेत रहेका छन्।

उनीहरूले गत मंसिर २५ गते राति विवाहमा सहभागी भएर फर्कन लागेका भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–९ च्याम्हासिंह बस्ने वर्ष ४८ का गंगाप्रसाद प्रजापतिलाई धारिलो हतियार (चक्कु) प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिको खोजतलास गर्दै जाँदा च्याम्हासिंहबाट फरार रहेका तीनै जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा रामशेखर शिलाकारको साथबाट ४०० ग्राम सुकेको गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई भक्तपुर जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी पेस गरेकोमा ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताउनुभयो।
घाइते प्रजापतिको बीएन्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको गोलेले बताउनुभयो।