धार्मिक पर्यटनमा जोड दिन जरुरी



आगामी वर्ष अर्थात् सन् २०२० लाई भ्रमण वर्षको नारा दिइएको छ। नेपालले यसलाई भव्यरूपमा मनाउने तयारी गरिरहेको छ। यस सन्दर्भमा नेपालको ‘सबल पक्ष’ भनेको धार्मिक पर्यटनमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्नु नै हो। विशेष गरी नेपाल हिन्दू धर्मावलम्बी र बौद्ध धर्मालम्बीहरूको आकर्षण एवं आस्थाको केन्द्रका रूपमा विश्वमै सुपरिचित छ।

सनातन धर्म र हजारौं वर्षको इतिहास बोकेको यस मुलुकको धार्मिक सहिष्णुता अनुकरणीय रहेको छ। जसअनुसार हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियनलगायतका सबै धर्ममा आस्था राख्नेले आ–आफ्नो रीतिरिवाज निर्बाध ढंगले गर्न पाएका छन्।यहाँ जति घर छन् त्यति मन्दिर छन् र जति मानिस छन्, त्यति संख्यामा देवीदेवता छन् भनी टिप्पणी गर्ने गरेको पनि इतिहासमा पढ्न पाइन्छ।

त्यसैले यो मुलुक धार्मिक पर्यटनका लागि उर्वर भएको बुझिन्छ। ऐतिहासिक तथ्य, तथ्यांकले नेपाल एउटा प्राचीन मुलुक भएको प्रमाणित हुन्छ। यसर्थ, नेपालको विश्व इतिहासमा छुट्टै पहिचान र विशिष्ट स्थान रही आएको छ।

नेपालको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौमसत्ता, पहिचान, आपसी भाइचारा, धार्मिक सहिष्णुता र राष्ट्रप्रेमलाई सनातन बुद्ध धर्म र संस्कृतिले बलियोसँग एकताको सूत्रमा बाँधेको छ। जसका कारण नेपाल धार्मिक पर्यटनका दृष्टिकोणले विश्वमा सगरमाथा जत्तिकै उच्च र भगवान् गौतम बुद्धझैं शान्त र स्थिर अवस्थामा छ।

समयको परिवर्तनसँगै मुलुकमा धेरै परिर्वतन पनि आएको छ। हिन्दूको आस्थाको एकमात्र केन्द्रविन्दु पशुपति र बौद्धहरूको आँखाको नानीको रूपमा रहेको लुम्बिनीका अतिरिक्त अन्य कैयौं धार्मिक स्थलहरू हाल चर्चाको शिखरमा छन्। भारतको रामेश्वर, बद्री, द्वारका र जगन्नाथलाई चारधाम मानिन्छ।

तर, यीभन्दा उत्कृष्ट धामहरूको नेपालमा कुनै कमी छैन। साबिकमा भारतको उज्जैन, नासिक, प्रयाग र हरिद्वारमा लाग्ने गरेको कुम्भ मेला हाल नेपालको चतराधाममा पनि उत्तिकै धूमधामसँग लाग्ने गरेको छ। एकपटकको मेला भर्न करिब डेढ करोड मानिस पुग्ने गरेका छन्। कैयौं नेपाली भारतको केदारनाथ दर्शन गर्न पुग्छन् तर त्यसको शिर भाग भक्तपुरमा रहेको डोलेश्वर महादेव हो भन्ने जानकारी क्रमशः बढ्दै गएको छ।

यस्ता सूचनालाई व्यापकरूपमा प्रचारप्रसार गरी भारतलगायतका धार्मिक पर्यटकको संख्या वृद्धि गर्न आवश्यक पूर्वाधार र रणनीति तर्जुमा गर्नु अहिलेको माग हो। पूर्वमा रहेका पाथीभरा, बराह क्षेत्र र चतराधामलगायतको कार्ययोजना बनाई धार्मिक पर्यटकको सुविधाका लागि प्याकेज घोषणा गर्न ढिला गर्नुहुँदैन। यसैगरी, छिन्नमस्ता, बाराको गढीमाई र जानकीधामको भ्रमण गर्ने सुवर्ण अवसर आमनेपाली र विदेशीलाई प्रदान गर्न हामी अग्रसर हुनैपर्छ।

काठमाडौं उपत्यकाभित्र पशुपति, गुहेश्वरी, चाँगुनारायणलगायतका चार नारायण, बगलामुखीलगायतका शक्तिपीठहरूको भ्रमण केवल धार्मिक दृष्टिकोणले मात्रै होइन, शैक्षिक भ्रमणका दृष्टिकोणले पनि उत्कृष्ट रहने पक्का छ। काठमाडौंमा मुस्लिम धर्मावलम्बीको ठूलो मस्जिद छ। गुरु नानकको मन्दिर छ। यसै गरी बौद्ध, स्वयम्भूलगायतका अनगिन्ती गुम्बा रहेका छन्।

क्रिस्चियन धर्मावलम्बीहरूको पनि थुप्रै चर्चहरू छन्। यसै गरी, खोटाङको हलेसी महादेव र दोलखाको भीमसेन नेपालभित्र मात्रै होइन, भारतलगायतका मुलुकमा पनि प्रख्यात छन्। यी स्थानमा पर्यटक प्रवद्र्धन गर्न विशेष केन्द्रहरू खडा गर्न जरुरी छ। गोरखाको मनकामना र गोरखनाथको भ्रमण तथा लिगलिगकोट दरबार र डाँडालगायतको मनोरम दृष्टिले जो–कोही पनि खुशीले, उमंगले गदगद हुन सक्छ।

नेपालको मध्यभागतिर गोसाइँकुण्ड, देवीघाट, देउघाट र त्रिवेणीको संगममा एकैपटक पुग्न पाउनु जीवनकै सौभाग्य हुनेछ।
यस्तै त्रिशूली, कालीगण्डकीलगायतका विशाल नदीहरूको संगमले बनेको नारायणी नदीमा जलयातायातको सम्भावना धेरै पहिलेदेखि पहिचान हुँदै आएको छ। यसै सन्दर्भमा प्यूठानको स्वर्गद्वारी र मुस्ताङको मुक्तिनाथ पुग्दा जो–कोहीले ‘स्वर्ग’मै पुगेको अनुभूति गर्नेछन्।

प्यूठानको भ्रमणमा कैयौं खलंगाहरू देख्न सकिन्छ भने मुक्तिनाथ पुग्दा लोमाङथाङ पुगेर एउटा छुट्टै र विशेष इतिहास बोकेको उच्च हिमाली भेगको मनमोहक दृश्य आफ्नो हृदयमा कैद गर्न सकिनेछ। गुल्मीको रिडी र रेसुंगाको भ्रमण र दर्शनले मानिसको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

जीवनमा एकपटक दामोदर कुण्डमा डुबुल्की मार्ने कसको रहर नहोला। यसै गरी रारामा पुगेर ‘बोटिङ’ गर्दाको मज्जा कल्पना गर्दा पनि मन विभोर पाइन्छ। साथै, सेफोक्सुन्डो र कुभिण्डे ताल देख्दा मानिसले बल्ल नेपालको सौन्दर्यको गाथा गाउन थाल्छ। यी क्षेत्र जति पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छन्, सोही हिसाबले धार्मिकरूपमा पनि अति महत्वपूर्ण छन् भन्ने कुरा हेक्का गर्नैपर्छ।

पाल्पाको भैरवनाथ र ऋषिकेश धार्मिक पवित्रस्थल हुन्। यसै बखत पाल्पाको रानी महल पुग्ने मानिसले अर्को कुनै मुलुकको भ्रमणमा जानै नपर्नेसम्म सोच्न सक्छ। यसै गरी पोखरा पर्यटकीय दृष्टिकोणले अति प्रख्यात स्थान हो। साथै, यहाँ रहेको ताल बाराहीलगायतका धार्मिक पर्यटकीय स्थलको भ्रमणले मानिसमा सुख र शान्तिको सन्देश दिने कुरामा ढुक्क हुन सकिन्छ।

शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, क्रीडास्थल कपिलवस्तु, देवदह, रामग्राम र तिलौराकोटको भ्रमणले आममानिसको चेतनास्तर माथि उठ्ने विश्वास गरिन्छ। नेपालमा रहेको खप्तड, मनास्लु र रुरु रेसुंगा क्षेत्र पनि पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण छ। यस्तै लाङटाङ गौरीशंकर, पर्साको जीराभवानी, खोटाङको बराहपोखरीलगायतका पवित्र भूमिको पर्यटकीय प्रवद्र्धनमा गुरुयोजना निर्माण हुनुपर्छ।

नेपाल हिमालको काखमा रहेको पवित्र भूमि त हुँदै हो। त्यसमा पनि वेद, रामायण, महाभारतमा वर्णित थुप्रै पवित्र धार्मिक स्थानहरू भएको मुलुक पनि हो। यस मुलुकलाई बौद्धिक र आध्यात्मिक चिन्तनको थलोका रूपमा विकास गर्नुपर्छ।काठमाडौं, ललितपुर र भक्तपुर दरबारभित्र पनि महत्वपूर्ण तीर्थस्थल रहेका छन्। यस्ता कुराको समेत समुचित प्रचारप्रसार गर्न सकिएको छैन।

नेपालभित्र रहेका सबै पवित्र धार्मिकस्थलमा वर्षमा वा तीन वा पाँच वर्षमा एकपटक अनिवार्य पुग्ने बानीको विकास मात्रै गर्न सके पनि हाम्रो तीर्थस्थलको महत्व बढेर जाने पक्का छ। यदी नेपालीले आफ्ना पवित्र धार्मिकस्थलका बारेमा जानकारी लिन नसकेमा बाह्य धार्मिक पर्यटक आउने सम्भावना न्यून भएर जान्छ।

पवित्र तीर्थस्थलहरूको सचित्र वर्णनसहितको अडियो र भिजुअल सामग्री तयार गरी नेपालभित्र र विश्व बजारमा व्यापक प्रचारप्रसार गर्नुपर्छ। यसरी नेपाल भ्रमण वर्षलाई पूर्णरूपमा सफल तुल्याउन धार्मिक पर्यटन एउटा महत्वपूर्ण पक्ष हो भनी सरकार र निजी क्षेत्रले समयमै बुझेर यसतर्फ मन, वचन र कर्मले सत्प्रयास गर्न सार्वजनिक आह्वान गर्दछु।

– आभास सत्याल,
रानीवन, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्