सेफ्टी ट्यांकीमा श्रीमतिको लास फालेर विवाहभोज र जन्ती हिडेपछि..

0
Shares

सीताराम अधिकारी,धादिङ ।

मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ३ आमकोटका अर्जुन थापा मगरले काकाहरुको सहयोगमा विवाह गरेकै भोली पल्ट श्रीमतिको घाँटी थिचेर हत्या गरे ।

हत्या भएको १८ दिनपछि प्रहरीले विषेश सूचनाको आधारमा हत्यामा संलग्न तीन जनालाई पक्राउ गरि हिरासतमा लिएको छ । विवाह गरेर घर ल्याएको श्रीमतिलाई त्यसको भोलीपल्ट हत्या गरेपछि लासलाई सेफ्टी ट्यांकीमा हालेरर बेपत्ता पार्ने मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ३ का २३ वर्षीय अर्जुन थापामगर, अर्जुनका काका ३२ वर्षीय छबी थापा मगर र ४७ वर्षीय इन्द्र थापामगरलाई मंसिर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले जानाकारी दिनुभयो ।

२० वर्षीय अनिशा तामाङलाई ०७६ मंसिर ९ गते मकवानपुरबाट विवाह गरि ल्याएका थिए । विवाहको भोलीपल्ट १० गते राती हत्या गरेर सेफ्टी ट्यंकीमा हाले । अनिशाको श्रीमान अर्जुन हुन् ।

अर्जुनले काकाहरुलाई साथमा लिएर हत्या गरे । विवाह गरेर ल्याएको मान्छे कहाँ छ भनेर गाउँबासीले सोधिखोजी गर्दा माइत गएको बताएर गाउँबासीलाई ढाँट्दै आएका थए । लास समेत बेपत्ता पार्नका लागि ठूलो शौचालयको सेफ्टीट्यांकीमा हालेका थिए ।

रक्सी खाएर घरमा बसेको बेला अनिशाको घाटी थिचेर हत्या गरेपछि शौचालयको सेफ्टीट्यांकीमा हालेको अवस्थामा लास फेला परेको र घटनामा गाउँबासीले थाहा पाएर सार्वजनिक भएको सिद्धलेक गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष देबबहादुर पुलामीले बताउनुभयो ।

यस अघि गाउँबासी यहाँ लास गनाएको भनिरहेको बेला गोरु मरेको समेत भनेर उनिहरुले गाउँबासीलाई झुक्याउँदै आएका थिए । घटना पछि आरोपित अर्जुन गाउँमा विवाह भोज, जन्ती जाने गरेका थिए ।

यसै क्रममा उनले श्रीमतिले आत्महत्या गरेको र लासलाई थाहा नपाउनेगरि सेफ्टी ट्यांकीमा हालेको बताएका थिए । एक कान दुईकान हुँदै मैदान भएपछि प्रहरीको प्रारम्भीक अनुसन्धानबाट घटना हत्या भएको आशंकामा अनुसन्धान पछि आरोपीहरु हिरासतमा आएका हुन् ।

प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तिन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने प्रहरीको भनाइ छ । शौचालयको सेफ्टी ट्यांकीको ढकनी खोलेर ब्ल्याङ्केटले बेरेपछि अनिसाको लास हालिएको अवस्थामा भेटिएको थियो ।

सेफ्टी ट्यांकीको ढकनी ठूलो भएकोले एक जनाले मात्र खोल्न सक्ने अवस्थामा नरहेकोले उनिहरु मिलेर हत्या गरेको आरोप लगाइएको छ । शौचालयमा दिसा पिसाव नगरेका कारण आरोपितले दिन दिनै धेरै पानी हालेर राख्ने गरेको गाउँबासीले बताएका छन् ।

घरमा विवाह गरेर ल्याइएको श्रीमति खोजी गर्दा सोही दिन माइतीतर्फ गएको भनेर आरोपितले ढाँट्दै आएका थिए ।

घटना पछि लास गनाउन थालेको गाउँबासीले शंका गरिरहेको बेला प्रहरीको टोलीले प्रारम्भिक अनुसन्धान पछि सबैलाई गिरफतार गरेको हो । शब परिक्षणको लागि जिल्ला अस्पताल राखिएको छ भने घटनाको थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।