रोेहिंग्या शरणार्थीले भने ‘विकल्प नहुँदासम्म टहरा भत्काउँदैनौ’

0
Shares

मोतीराम तिमल्सिना,काभ्रेपलाञ्चोक ।

म्यानमारबाट विस्थापित रोहिंग्या समुदायले ५० परिवारको बसोबासका लागि जिल्लाको पनौती नगरपालिका स्थित वडा नम्वर ३ कुशादेवीको बञ्चरेडाँडामा निर्माण गरेका २३ टहरा मध्ये ९ वटा टहरा स्थानीयको चेतावनी सँगै अल्टिमेटम पछि आफै भत्काएका छन् ।

वाँकी १२ टहरा विकल्प नहुँदासम्म नभत्काउने बताएका छन् । शनिबार दिउसो निर्माण हुँदै गरेका ९ वटा टहरा आफै भत्काएको रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले जानकारी दिनु भयो ।

‘हामीलाई ल्याउने रामेश्वर थापाले नयाँ बनाउन भने पछि बन्दै गरेका टहरा भत्काएका हौ’–उहाँले भन्नुभयो–‘बनिसकेका १२ टहराका ३४ जना बस्ने विकल्प नहुँदासम्म छाड्दैनौ र भत्काउँदैनौ ।’

शनिबार दिउसभरी लगाएर बन्दै गरेका टहरा भत्काउन थालेपछि शरणार्थीहरुले पत्रकारलाई जानकारी गराएका थिए । स्थानीयहरुको चर्काे विरोध भए पछि उनिहरुलाई कुशादेवीसम्म ल्याउने स्थानीय रामेश्वर थापाले काका सत्यराम थापाको जग्गा खालि गर्न ७ दिनको अल्टिमेटम दिएका थिए ।

उनिहरुले जग्गा भाडामा लिएको भनिए पनि कागजी सम्झौता गरिएको छैन ।
‘हामीलाई सम्पर्कमा ल्याउने रामेश्वर थापाले ७ दिन भित्र हटन् निर्देशन दिनु भयो’– रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भन्नु भयो–‘यूएनएचसीआर नेपालमा काम गर्न दिदैन, बसोबास पनि दिदैन, पैसा पनि दिदैन, के भोक भोकै मर भन्या हो ?’

पनौतीको कुशादेवी स्थित बञ्चरेडाँडामा निर्माण गरिएको टहरा हटाएर जाने स्थान कतै नभएकाले यूएनएचसीआरको गेटमा गएर आमरण बस्ने चेतावनी ऐसुपले दिनु भयो । शुक्रबार नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा कुशादेवीमा रोहिंग्या शरणार्थीले धमाधम टहरा निर्माण गरेको समाचार प्रकाशन सँगै स्थानीयहरुले समेत आक्रोश ब्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा समेत शरणार्थी राख्न पैसाको चलखेल गरेको आरोप लगाएका छन् । २०१२ देखि नेपाल भित्रिएका रोहिंग्या समुहलाई शरणार्थीको प्रमाणपत्र दिदै यूएनएचसीआरले रकम उपलब्ध गराउँदै आएको भए पनि २०१५ देखि पैसा नदिएको ऐसुफले बताउनु भयो ।

पैसा नदिए पछि पेट पाल्नु काम गर्नुको विकल्प नभएको उहाँले बताउनु भयो ।
२०१३ मा नेपाल आएका नुर हाफिसले शरणार्थीा रुपमा यूएनएचसीआरले प्रति ब्यक्ति ५७५०, प्रति महिला घरको मुलीलाई ३७५० र प्रति बच्चा २७५० रुपैया दिर्दै आएको बताउनु भयो ।

२०१५ बाट उक्त रकम बन्द गरेपछि रोहिंग्याले आन्दोलन गरेका थिए । निहरुका अगुवा हसन हसन सोहि क्रममा डेड महिना जेल परेका थिए । स्थानीय सरकार, जिल्ला प्रशासनलाई २०७६ मसिर १० गते काम गर्ने मजदुरका रुपमा आएको जानकारी दिएर रोहिंग्या समुहले धमाधम टहरा निर्माण गरेको हो ।

‘काठमाडौको बुढानिलकण्ठको कपन स्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका रोहिंग्या समुहले निर्माण गरेको टहरा हटाउन अल्टिमेटम दिए पछि थप तनावमा परेको ऐसुफले बताउनु भयो ।

‘कहिँबाट सहयोग छैन, आफ्नो देशबाट निकाला भएका छौं, पेट पाल्नकै लागि हामी यहाँ आएर टहरा बनायौं’–मोहमद ऐसुपले भन्नु भयो–‘२०१३ देखि म नेपाल आएर अधिकारका लागि लडिरहेको छु ।

२०१८ सम्म ३ सय ५५ जना रोहिंग्या नेपाल आईसकेका छन् । २०१९ मा सरकारले कडाई गरेका कारण आउन सकेका छैनन ।’ त्रिवीका एक प्राध्यापक मार्फत जग्गा धनी सत्यराम थापासँग ऐसुपको भेट भएको थियो । सत्यरामले भतिज रामेश्वर थापा मार्फत उनिहरुलाई भाडामा जग्गा उपलब्ध गराएका थिए ।

थापा ललितपुर लुभु लामाटार कुशादेवी पनौती नमोबुद्ध सडकको काम गरिरहेका छन् । ‘मैले शरणार्थी भनेर चिनेको मसिंरको १३ गते तिर मात्रै हो’–थापाले भन्नुभयो–‘शरणार्थी भनेर चिनेपछि झनै काममा लगाएको छैन ।’

उनिहरुलाई जग्गा खाली गर्न अल्टिमेटम दिएको थापाले बताउनु भयो । टहरामा बच्चा १२, महिला ९ सहित पुरुष १३ गरी ३४ जना छन् ।