हिदम लामा
अध्यक्ष, भीमफेदी गाउँपालिका, मकवानपुर
युवा नेता हिदम लामा, मकवानपुरको ऐतिहासिक भीमफेदी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ।धेरैका आशा, भरोसा बनिरहनुभएका युवा जोशले भरिएका लामा लोकप्रिय एवम् इमानदार नेताका रूपमा परिचित हुनुहुन्छ। सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण अभियानमा आफ्नोतर्फबाट भूमिका निर्वाह गरिरहनु छ। अध्यक्ष लामासँग नेपाल समाचारपत्रका लागि हैटौंडा संवाददाता रोशन पराजुलीले गाउँपालिकाका विभिन्न अवसर, चुनौती, सम्भावना, नागरिकका आकांक्षालगायत विषयमा गर्नुभएको कुराकानीको सारसंक्षेप :
तपाईं नेतृत्वको गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि के कस्ता कार्यक्रमका योजना बनाएको छ ? बजेट बाँडफाँड गर्दा कसरी गर्नुभएको छ ?
यो आर्थिक वर्ष सकिँदैछ। आर्थिक वर्ष २०७६–२०७७ का लागि हामीले ५२ करोड ९८ लाख रुपियाँको बजेट निर्माण गरेका छौं। स्थानीय तहले नेपालकै परिपेक्ष्यलाई हेर्ने हो भने पूर्वाधारलाई विशेष जोड दिएको देखिन्छ। तर, भीमफेदी गाउँपालिकाको सन्दर्भमा पूर्वाधारसँगै यस पटक हामीले सामाजिक विकास र आर्थिक विकासलाई विशेष जोड दिएका छौं।
हामीले गत आर्थिक वर्षभन्दा सामाजिक विकास र आर्थिक विकासका लागि तीनगुणा बढी बजेट विनियोजन गरेका छौं। विपद् व्यवस्थापन तथा सुशासन प्रवद्र्धनका लागि पनि हामीले प्राथमिकता दिएका छौं।
विकास भनेको खाली भौतिक पूर्वाधार मात्र पनि होइन। नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिवद्ता गरेका दिगो विकासको लक्ष्य हासिल गर्ने विषयहरूलाई पनि हाम्रो बजेटले सम्बोधन गर्नुपर्ने हुन्छ।
त्यसैले दिगो विकासको लक्ष्य हासिल गर्ने सन्दर्भमा हाम्रो बजेटले यस्ता चिजहरूलाई सम्बोधन गर्नुपर्छ, जुन सामाजिक र आर्थिक विकासमा पर्छन्। त्यसो भएर हामीले यस क्षेत्रलाई बढी प्राथमिकता दिएका छौं।
देशमा राजनीतिक संक्रमण त सम्पन्न भयो। राजनीतिक संक्रमण व्यवस्थापन भयो। तर पनि यो देशमा प्रशासनिक संक्रमण जारी छ। त्यसको मतलब के हो भने हाम्रो देशमा अझै पनि कर्मचारीको व्यवस्थापन, समायोजन आदिले गर्दा जति कर्मचारी हुनुपर्ने हो, त्यो खालको कर्मचारी व्यवस्थापन र उपलब्धता स्थानीय तहमा छैन।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम चाहिँ के कस्ता छन् ?
विशेषगरी हाम्रो प्राथमिकता भनेको शिक्षा, स्वास्थ्य र आर्थिक विकास हो। युवालाई स्वरोजगार बनाउने नै हो। यस पटक हामीले भीमफेदी गाउँपालिकामा शिक्षा र सामाजिक हिसाबमा हेर्ने हो भने बालविवाह पनि समस्याको रूपमा रहेका छन्। त्यसको निदानका लागि विभिन्न कदम उठाउने प्रयास गरेका छौं।
प्रदेश–३ सरकारले बालविवाहमुक्त प्रदेश बनाउने भनिरहँदा हामीले पनि हाम्रो स्थानीय तहलाई बालविवाहमुक्त गराउन १४ वर्षदेखि २० वर्षसम्मका सबै छोरीलाई बीमा गर्ने कार्यक्रम ल्याएका छौं। स्वास्थ्यको सन्दर्भमा कुरा गर्ने हो भने हामीले सुत्केरी र गर्भवतीको सुरक्षा गर्ने, उहाँहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम, चेपाङहरूको बीमा गर्ने कार्यक्रम, साथै शिक्षाको पाटोमा अनुगमनलाई व्यवस्थित गर्ने योजना बनाएका छौं।
अन्तर्राष्ट्रियस्तरको पढाइ जापानदेखि चीनसम्म हेर्ने हो भने शिक्षामा धेरै अगाडि छन्। यसका लागि हामीले पनि नेपाल सरकारले स्वीकृति दिएको पाठ्यक्रम स्मार्ट एजुकेसन सिस्टम र टिचिङ मास्टर कार्यक्रम सबै सामुदायिक विद्यालयमा यसवर्ष शुरू गर्दैछौं।
यो हाम्रा लागि चुनौती पनि छ। किनभने, यो हाम्रोलागि नयाँ अभ्यास हो। यदि यो अभ्यास सफल भयो भने शिक्षा क्षेत्रमा अझ बढी लगानी गर्यौं भने मलाई नीजिस्तरबाट स्कुल खोलिराख्नुपर्छ भन्ने लाग्दैन। सामुदायिक विद्यालयमै त्यो स्तरको पढाइ गर्नुपर्छ भनेर हामी सरकारले स्वीकृति दिएका नयाँ पाठ्यक्रम लागू गराउन लागिरहेका छौं।
अहिलेको बजेट, नीति कार्यक्रमको कुरा गरिरहँदा विगतका बजेट तथा नीति कार्यक्रम सफल भए त? यस अघिको बजेट तथा नीति कार्यक्रमको समीक्षा कसरी गर्नुहुन्छ ?
देशमा राजनीतिक संक्रमण त सम्पन्न भयो। राजनीतिक संक्रमण व्यवस्थापन भयो। तर पनि यो देशमा प्रशासनिक संक्रमण जारी छ। त्यसको मतलब के हो भने हाम्रो देशमा अझै पनि कर्मचारीको व्यवस्थापन, समायोजन आदिले गर्दा जति कर्मचारी हुनुपर्ने हो, त्यो खालको कर्मचारी व्यवस्थापन र उपलब्धता स्थानीय तहमा छैन।
त्यसैले हामीले भएका जनशक्ति, कर्मचारीलाई प्रोत्साहन गर्ने, उहाँहरूको अप्ठ्यारा कुरामा सम्बोधन गर्दै जाने, उहाँहरूलाई बढीभन्दा बढी परिचालन गरेर उपलब्धि हासिल गर्ने प्रयासमा छौं। चालू आर्थिक वर्षको सन्दर्भमा हेर्ने हो भने हामी ८० प्रतिशतभन्दा बढी हाम्रो बजेट सम्पन्न गर्न सक्छौं।
कतिपय कार्यविधिको समस्या, कतिपय भौतिक पूर्वाधारका लागि वन, पुरातत्वसँग स्वीकृति आवश्यक पर्ने हुँदा हामीले त्यस्ता काम स्वीकृति पाउन नसकेको अवस्थामा हामीले गर्न सकेनौं। पूर्वाधारको क्षेत्रमा हेर्ने हो भने भीमफेदी गाउँपालिका देशलाई नै उज्यालो बनाउने कुलेखानी हाइड्रोपावर भएको ठाउँ। तर, त्यही ठाउँका कतिपय वडामा टुकी बालेर बस्नु परेको छ।
त्यसकारण हामीले यो आर्थिक वर्षमा विद्युतीकरणका सन्दर्भमा धेरै कामहरू गर्यौं। विद्युत् पुर्याउने काम जारी छ। अब चाँडै भीमफेदी गाउँपालिकाका सबै वटाका घरघरमा बिजुली पुग्नेछ। काठका पोल जीर्ण छन्। दुर्घटना हुनसक्ने, मानवीय र धनको क्षति पनि हुनसक्ने जोखिम अवस्थामा रहेका काठको पोललाई सार्र्ने योजनामा छौं।
जोखिमयुक्त काठको पोल हटाएर स्टिल ट्युबलर पोल राखी काठको पोलमुक्त गाउँपालिका बनाएर व्यवस्थित विद्युतीकरण गर्ने हाम्रो अभियान जारी छ।
बाटो नपुगेका ठाउँहरू जस्तै इपाको धार्के महभीर, बरदेउलगायत ठाउँमा प्रदेश सरकारको समेत सहयोगमा हामीले भौतिक पूर्वाधारका कामहरू अघि बढाइरहेका छौं। त्यहाँ उत्पादित वस्तुहरूलाई बजारसम्म लैजान अब टाउकोमा बोकेर होइन, गाडीको माध्यमले पुर्याउने हो। नागरिकको जीवनलाई सहज बनाउने काम गर्न हामी लागिरहेका छौं।
भीमफेदी, मकवानपुरको पुरानो सदरमुकाम, हाइवेदेखि नजिक भएर पनि टुकी बाल्नुपर्ने बाध्यता भएको विकट ठाउँ। यहाँ अवसर तथा सम्भावना पनि छन्। यस्तो गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाउनुभएको छ। आफ्नो जिम्मेवारी सम्हालिरहँदा नागरिकका चाहना, आकांक्षा के कस्तो पाउनुभएको छ ?
पक्कै पनि यो हाम्रो लागि गर्वको विषय हो। काम गर्दा चुनौतीहरू आउँछन्। दुई खालका अतिवादी सोचहरू हामीसँग छन्। अहिले स्थानीय तह, प्रदेश र संघीय सरकारका जनप्रतिनिधिमा पनि एक खालको चिन्तन छ। म त्यो चिन्तनलाई अतिवादी चिन्तन भन्छु। र, कर्मचारीमा पनि अतिवादी चिन्तन छ।
त्यो अतिवादी चिन्तन भनेको के हो भने परिणामलाई मात्र केन्द्रमा राखेर प्रक्रियाका विषयमा साेंच्दै नसोच्ने जनप्रतिनिधिहरू छन्। कर्मचारी पनि प्रक्रियामा मात्र रुमल्लिरहने र परिणामलाई ध्यान नदिने खालका छन। यो पनि अतिवादी चिन्तन हो।
यो दुवै चिजलाई फ्युजन गरेर जानुपर्छ। तबमात्र हामीले लक्ष्य हासिल गर्नसक्छौं। किनभने, संसारको ट्रेन्ड भनेकै इलेक्टेड र सेलेक्टेड संयन्त्रले राज्य व्यवस्था सञ्चालन गर्ने हुँदा यस्ता चिजमा कन्फ्युजन र कन्ट्राडिक्सन हुनु हँुदैन भन्ने मान्यतामा भीमफेदी गाउँपालिकाको छ। हामी यो मान्यतालाई स्थापित गरेर समन्वयात्मक ढंगले कार्यक्रमहरू कार्यान्वयन गर्न सफल छौं जस्तो लाग्छ।
गाउँपालिकामा अवसर तथा सम्भावना चाहिँ क–के देख्नुहुन्छ ?
भीमफेदी गाउँपालिका पर्यटनका हिसाबमा पनि अत्यन्त महत्वपूर्ण छ। ऐतिहासिक चिजहरूमा भीमफेदीको हात्तीसार, चिसापानीगढी छन्। जहाँ कालीतोप छ। त्यस्तै मैत्री बगैंचा, त्रिखण्डी, भीमफेदीको भीमसेन मन्दिर, गुप्तेश्वर मन्दिर यी सबैलाई प्रवद्र्धन गर्न सक्छौं।
यसबाट हामी आयआर्जन गर्न सक्छौं। स्थानीय तहले एउटा खोलालाई व्यवस्थापन गरेको छ। भीमफेदी गाउँपालिकाको कोगटे र इपाको सीमामा रहेको एउटा पौडी पोखरीबाट हामीले वार्षिक साढे ४ लाख रुपियाँ आम्दानी गरिरहेका छौं। कृषि क्षेत्रका लागि पनि भीमफेदी गाउँपालिका अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा हामीले लिएका छौं।
कृषिमा पनि व्यावसायिक तरकारी खेतीसँगै पशुपालन र त्यसमा पनि विशेषगरी बाख्रापालनका लागि अत्यन्त उपयुक्त ठाउँ भएका कारण यसवर्ष प्रदेश सरकार र हाम्रो संयुक्त लगानीमा यहाँ धेरै मानिसलाई रोजगारीका अवसर सिर्जना गर्ने र व्यावसायिक बाख्रापालनका माध्यमबाट मासुमा आत्मनिर्भर गाउँपालिका र निर्यात गर्न सक्ने गाउँपालिकाका रूपमा विकास गर्न मासु उत्पादन गर्नेहरूलाई हामी प्रोत्साहन गर्छौं, इन्सेन्टिभ दिन्छौं।
उत्पादित मासुलाई बेच्दा पनि किलोको १० रुपियाँका दरले मासुमा इन्सेन्टिभ दिन्छौं। जस्तो दूधमा अहिले सरकारले एक रुपियाँ दिइरहेको छ, त्यस्तै। हाम्रो कार्यविधिअनुसार सञ्चालन हुने फर्महरू, व्यावसायिक संस्थाले मासुमा प्रति केजी १० रुपियाँ इन्सेन्टिभ दिएर मासुमा आत्मनिर्भरमात्र होइन, देशलाई नै मासु निर्यात गर्नसक्ने बनाउने हो।
किनभने, १५ अर्बको मासु भारत र चीनबाट आयात गरिरहेको सन्दर्भमा यसले सहयोग गर्छ भन्ने मान्यतामा हामी अगाडि बढिरहेका छांै। पर्यावरणलाई प्रयोग गर्र्छांै। यहाँ धेरै खानीहरू छन्।
यसलाई खानी ऐनबमोजम सञ्चालन भए पनि अव्यवस्थित हिसाबमा हामी सञ्चालन गर्न दिँदैनौं। स्थानीय प्राकृतिक स्रोत परिचालन गरिनुपर्छ तर व्यवस्थित हुनुपर्छ, जनताका लागि हुनुपर्छ। कृषि क्षेत्रका लागि पनि भीमफेदी गाउँपालिका अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा हामीले लिएका छौं।
गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा हिजोका दिनमा जनताका घर–घरमा पुगेर प्रस्तुत गर्नुभयो योजना कति पूरा गर्न सकिए र अब के बाँकी छन् ?
विकासको क्रम त राणाकाल, पञ्चायत, बहुदलीय व्यवस्थामा पनि भएको हो। विकास एउटा निरन्तर प्रक्रिया हो। अमेरिकामा पनि विकासको क्रम चलिरहेको छ। त्यसकारण हाम्रो आधारभूत आवश्यकता के हो ? त्यसलाई सम्बोधन गर्दैै लैजाने हो।
अन्तिममा हामीले गर्ने भनेको जनताको प्रतिव्यक्ति आय बढाउने, जनताको आयु बढाउने, शिक्षा विकास गर्ने तथा व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्ने हो। व्यावसायिक शिक्षालाई बढी जोड दिन हामीले अहिले दुई वटा प्राविधिक शिक्षालय सञ्चालन गरिरहेका छौं।
कृषि र इलेक्ट्रिक सबइञ्जिनियरको कक्षा पनि सञ्चालन गरिरहेका छौं। व्यावसायिक ढंगले शिक्षामा जोड दिने, साथ साथै स्वास्थ्यका लागि प्रत्येक वडामा आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना छ। यसवर्ष हामीले प्यालिटिभ केयर पनि सञ्चालन गर्दैछौं।
यसबाट क्यान्सर, मधुमेह जस्ता दीर्घरोगीलाई घरघरमै गएर उपचार गर्ने, घरमा उपचार गर्न नसक्नेलाई हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग एमओयू गरेर उहाँहरूको साथमा जनतालाई उपचार सेवा पुर्याउनेछौं।
६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उहाँहरूकै घरमा पुगेर महिनाको एकपटक स्वास्थ्य जाँच गर्ने तथा आवश्यक सहयोग गर्ने जस्ता कार्य पनि हामीले गरिरहेका छौं।
समग्रमा शिक्षाको स्तरलाई माथि उठाउने, नागरिकको जीवनस्तर सहज बनाउने, नागरिकको प्रतिव्यक्ति आय बढोत्तरी गर्ने, नागरिकको सरदर आयुमा वृद्धि गराउने, स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने काम गर्नेछौं। यी विभिन्न क्षेत्रमा हामी कार्य गर्दै भीमफेदी गाउँपालिकालाई समृद्ध बनाउने यात्रामा छौं।
प्रतिक्रिया