नेपाल समाचारपत्र, रोल्पा।
रोल्पाको रुन्टीगढी गाउँपालिकाले नगर प्रहरी भर्ती गरेको छ। एक महिला सहित ९ जना नगर प्रहरीलाई गाउँपालिकाको सुरक्षा र विकास गतिविधिमा परिचालन गर्ने गरी गाउँपालिकाले भर्ती गरेको हो।
अहिले गाउँपालिकाले सलामी, पिटी परेट, भिड नियन्त्रण, रेक्यू, विपद् व्यवस्थान तथा उद्दार र सामान्य हतियार सञ्चालन सम्बन्धी एक महिने तालिम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभयो।
‘कार्यालय सञ्चालन, चेन अफ कमान्डलगायतका विषय तालिममा समावेश गरिएको छ,’ अध्यक्ष बुढाले भन्नुभयो–‘तालिम नेपाल प्रहरीको सहयोगमा सञ्चालन भईरहेको छ।’राजस्व संकलन, न्यायिक समितिलाई सहयोग, सरसफाई, पर्यटन गाईड र कार्यालय सुरक्षाको लागि उनीहरूलाई परिचालन गर्ने सोच बनाएका छौं गाउँपालिकाका नायव सुब्बा दीपक डिसीले भन्नुभयो।
तालिम लिईरहेका मध्ये उत्कृष्टता हासिल गर्नेलाई प्रमुख नगर प्रहरी र अन्य ८ जनालाई नगर प्रहरीको रूपमा दरवन्दी सिर्जना गरिएको गाउँपालिकाले जनाएको छ। १३ हजार पाँच सय तलब र दुई हजार पाँच सय भत्तासहित मासिक उनीहरूले १६ हजार सुविधा पाउने भएका छन्। पोषाक भत्ता हरेक वर्ष उपलव्ध गराउने गाउँपालिकाले जानकारी दिएको छ।
नगर प्रहरीले सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने छन्। प्रहरी बनेर देशको सेवा गर्ने आफ्नो धोको पूरा भएको रुन्टीगढी–५ सखीकी कल्पना वहकारीले बताउनुभयो।
प्रहरीमा भर्ना हुने धोको पुरा भएकोमा खुसी लागेको छ, म गाउँपालिकाले लगाएको काम ईमान्दारीताका साथ पूरा गर्ने छु, उहाँले भन्नुभयो– ‘समूहमा आफू एक्लो महिला प्रहरी भएकोमा केही अप्ठ्यारो लागे पनि क्रमशः बानी पर्दै जाने विश्वास छ।’ गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी जिल्लामै पहिलो पटक सो गाउँपालिकाले नगर प्रहरी भर्ना गरेको हो।











प्रतिक्रिया