संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सार्वजनिक प्रतिवेदन अपुर्ण: मुख्यमन्त्री पोखरेल


यमलाल भुसाल, बुटवल ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा तयार मानव विकास प्रतिवेदन २०१९ मंगलवार बुटवलमा सार्वजनिक गरिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमित तथ्याँकको विश्लेषण गरेर नेपालको जीवनस्तर मापन गर्न नसकिने भन्दै जारी मानव विकास प्रतिवेदन आफैमा पूर्ण नभएको बताउनु भयो ।

उहाँले हरेक कुरालाई निरासाका रुपमा हेर्ने हाम्रो प्रवृत्तिका कारण केही नभएको जस्तो प्रतीत भैरहेको भन्दै तर विकासका सवालमा विगत दुई वर्षको अवधीमा धेरै काम अघि बढेकोले निरास हुने कुनै आधार नभएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले पूर्वाधार विनाको विकासको उपलव्धि शून्य हुने भएकोले प्रदेश सरकारले पूर्वाधारलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।
उहाँले सडक, पुल, खानेपानी, विजुली लगायतको पूर्वाधार नभैकन विकासको कल्पना पनि गर्न नसकिने भन्दै पूर्वाधारको विकास भएमात्रै शहरलाई गाउँ र तराईलाई पहाडसम्म जोड्न सकिने बताउनु भयो ।

मुख्यमन्त्री पोखरेलले मुलुकमा तीन तहको सरकार वनेपछि विकासले तीव्र रुप हासिल गरेको समेत बताउनु भयो ।

मूख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पहिलो वर्षलाई कानुन निर्माणको वर्षका रुपमा लिएको र दोश्रो वर्षलाई आवधीक योजना तयारीका वर्षका रुपमा लिएको भन्दै अहिले उत्पादनमा बृद्धि भएको र प्रदेशले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा प्राथमिकता दिएकोले देखिनेगरी परिणाम आउने दावी गर्नुभयो ।

जनताको स्वास्थ्य विमाले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच बढाएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसैगरी प्राविधिक शिक्षामा समेत प्रदेश सरकारले विशेष प्राथमिकता दिएकोले अव बेरोजगारीको दर समेत घटनेमा आफू आशाबादी रहेको भन्नुभयो ।

उहाँले जनताको आर्थिक जीवनस्तरमा सुधार भैरहेको भन्दै प्राविधिक शिक्षा, स्वास्थ्य विमा र जनतामा पछिल्लो समय भैरहेको सचेतना पहुँच बृद्धि नै कारण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका परियोजना विज्ञ बलराम पौडेलले मानव विकास प्रतिवेदनले नेपाली जनताको जीवनस्तरमा सुधार हुँदै गएको भएपनि छिटो आर्थिक बृद्धि हासिल गर्ने सवालमा भने अझै धेरै समय लाग्ने बताउनु भयो ।

युएनडिपीका प्रदेश ५ संयोजक सुदीप अर्यालले नेपाल आर्थिक र लैंगिक हिसावले समान अवस्थामा आउन अझै धेरै वर्ष लाग्ने बताउनु भयो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र लुम्विनी बौद्ध विश्वविद्यालयले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका उपकुलपति ह्दयरत्न बज्राचार्यले गर्नुभएको थियो ।