न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन प्रधानन्यायाधीश जवराको आग्रह


यमलाल भुसाल, बुटवल ।

प्रधानन्यायाधीश चोलन्द्र शम्सेर जवराले न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न दिन आग्रह गर्नुभएको छ ।

नेपाल बार एशोसियशनको आयोजनामा मंगलबारदेखि बुटवलमा सुरु भएको मानवअधिकार सम्बन्धि राष्ट्रिय सम्मेलन तथा ४६ औं कार्यकारिणी परिषदको बैठक उद्घाटन गर्दै प्रधानन्यायधिश जवराले बारको सहकार्यबिना न्यायपालिका अंगाडी बढ्न नसक्ने पनि बताउनु भयो ।

यसअंगाडी बोल्ने कतिपय बक्ताहरुले प्रधानन्यायधिश जवराको मिलेमतोमा न्यायधिश नियुक्तिका लागि न्यायपरिषद सदस्यलाई राजिनामा गराएको आरोप लगाएका थिए ।

त्यसको खण्डन गर्दै न्याय परिषद अध्यक्ष समेत रहनु भएका प्रधानन्यायधिश जवराले न्याय परिषद सदस्य पदमप्रसाद बैदिकले आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा गरेको प्रष्ट्याउनु भयो ।

बैदिक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहँदा सरकारको रिफारिसमा परिषद सदस्य हुनु भएको थियो ।

उहाँले नाम नलिईकनै भन्नुभयो–‘उहाँलाई न्यायधिश नियुक्तिकालागि राजिनामा गर्न लगाईएको होईन, आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा गर्नुभएको छ ।’

परिषद सदस्यबाट राजिनामा गर्दैमा नियुक्ति हुन्छ नै भन्ने पनि नभएको उहाँले बताउनु भयो । उहाँको नाममा पनि छलफल हुन सक्ने प्रधानन्यायधिश जवराले बताउनु भयो । त्यस्तैगरी उहाँले आदेश तथा फैसलाहरु बाहेसपूर्ण देखिए त्यस्ता न्यायधिशलाई छानविन गर्दा त्यसको बिरोधमा नउत्रीन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले न्यायधिश नियुक्ति प्रणालीलाई समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता खड्किएको बताउनु भएको छ ।

राजनीतिक कारणले न्यायालयको समेत साख गराउने काम भएकाले न्यायालयको गरिमा र साख जोगाउनकालागि पनि नियुक्ति प्रकृयामा सुधारको आवश्यकता देखिएको उहाँले बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै न्याय परिषदका सदस्य समेत रहनुभएका मन्त्री यादवले न्यायधिश नियुक्तिमा राजनीतिक रोगनका कारण जनमानसमा न्यायालयको गरिमा र साख गिराउने काम गरेको उल्लेख गर्नुभयो ।