शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन द्वन्द्वपीडितको आग्रह


काठमाडौँ ।
द्वन्द्वपीडितले जतिसक्दो चाँडो शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन राजनीतिक दलका नेतासँग आग्रह गरेका छन् ।

७१ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा द्वन्द्वपीडित राष्ट्रिय सञ्जालद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताले नै शान्ति प्रक्रियालाई लम्ब्याउन चाहेको भन्दै उनीहरुले आक्रोश व्यक्त गर्नुभयो ।

द्वन्द्वपीडित राष्ट्रिय सञ्जालकी उपाध्यक्ष देवी सुनारले शान्ति प्रक्रियाप्रति तत्कालीन विद्रोही र सरकारको नेतृत्वकर्ता नै शान्ति प्रक्रियाप्रति उदासिन देखिएको भन्दै जतिसक्दो चाँडो टुङ्ग्याउन अपिल गर्नुभयो । सञ्जालका सल्लाहकार रामकुमार भण्डारीले शान्ति प्रक्रियाको विषयलाई सत्ताको खेलसँग जोडेको आरोप लगाउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐन संशोधन गरेर मात्र अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । अधिवक्ता दिनेश त्रिपाठीले शान्ति प्रक्रियाबारे शीर्ष नेताहरु नै गम्भीर नदेखिएको आरोप लगाउनुभयो ।

मानव अधिकारकर्मी कपिल श्रेष्ठ र मानव अधिकारकर्मी चरण प्रसाईंले शान्ति सम्झौता भएको लामो समयसम्म पनि शान्ति प्रक्रिया नटुङ्गिनु देशकै लज्जाको विषय भएको बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य खिमलाल देवकोटाले आयोगमा पदाधिकारी नियुक्तिसँगै शान्ति प्रक्रियाको काम अघि बढ्ने बताउनुभयो । काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सरकारले सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन आनाकानी गरिरहेको आरोप लगाउनुभयो ।