भीरकोटमा साप्ताहिक हाटबजार शुरु

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

भीरकोट नगरपालिकामा हरेक शनिवार संचालन हुने गरी हाट बजार शुरु गरिएको छ । भीरकोट नगरपालिकाको सहयोगमा भीरकोट उद्योग वाणिज्य संघको आयोजनामा हरेक शनिवार साप्ताहिक रुपले हाट बजार शुरु गरिएको हो । हाटबजार शुरु भएपछि किसानहरु खशुी भएका छन् । विचौलीयाका कारण किसानहरु कृषि उपज उत्पादनको बिक्री गर्दा मर्कामा पर्दै आएका थिए ।

हाटबजार संचालनमा आएपछि किसानहरुले उत्पादन गरेको कृषि उपजलाई सोझै विक्रि गर्ने अवसर पाउने उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीले बताउनुभयो । किसानले उत्पादन गरेको तरकारीलाई विक्रि गर्न सहज होस भन्ने उदेश्यले हाटबजार संचालनमा ल्याएका हौं संघका अध्यक्ष केसीले भन्नुभयो,“ उपभोक्तालाई महङ्गो पनि नपर्ने, किसानले पनि उचित मुल्य पाउने अवस्था आउनेछ ।” यस हाटबजारले गर्दा अब विचौलीयका दिन दिन गएको केसीको दावी छ । कृषि उपज उत्पादनमा जिल्लाकै अग्रस्थानमा रहेको भीरकोटलाई हाटबजार संचालनले किसानलाई राहत मिल्ने बताइएको छ ।

हाटबजारको उद्घाटन नगर प्रमुख छायाराम खनालले गर्नुभएको थियो । यो हाटबजारले साना देखी ठुला कृषकलाई अर्गानीक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिल्ने छ नगर प्रमुख खनालले भन्नुभयो,“उत्पादनमा बृद्धि हुने र व्यवसायिक कृषक बन्नेमा आफू विश्वस्त रहेको छु ।” भीरकोटलाई कृषिको पकेट क्षेत्र बनाउन यो हाटबजारले सहयोग मिल्ने उहाँले बताउनुभयो ।

भीरकोट नगरपालिकाको बयरघारी, सुन्दर बजार, हेलु बजार लगायतका व्यापारीक केन्द्रहरुलाई हप्ताको १ दिन शनिवार पसल बन्द गरेर हाटबजारमा सहभागी भई आफ्नो आवश्यकता पुरा गर्न खनालले सबैलाई आग्रह गर्नुभयो । यस नगर क्षेत्र भित्र उत्पादित अर्गानीक ताजा तरकारी,फलफुल अन्नवाली, पशुपंशी र घरेलु हस्तकला लगायतका विभिन्न सरसमानहरु सहज र सुपथ मूल्यमा विक्रि वितरण तथा किनमेल हाटबजारमा हुनेछ ।

हाटवजारको प्रचार प्रसार जरुरी रहेको छ स्थानीय समाजसेवी तोयनाथ अर्यालले भने,“ गाँउका कुना—कुनामा रहेका कृषकको आत्मवल वढाई उत्पादमा वृद्धी ल्याउन यो हाटबजारले सहयोग पु¥याउनुपर्छ ।” अब भीरकोवासीले सुफथ मुल्यमा ताजा तरकारी खान पाउने व्यवस्था यो हाटबजारले दिनेछ उनले भने ।

जिल्लाका ११ स्थानीयतह मध्ये भीरकोटले किसानहरुलाई सहज होस भन्ने उदेश्य राखेर हाटबजार शुभारम्भ गरेको छ । जसले जिल्लाका जुनसुकै ठाँउमा उत्पादन भएको उपजलाई बिक्रि गर्न किसानलाई सहज हुने संघका महासचिव नुवादत्त अर्यालले बताए । डोकामा बोकेर विक्रि गर्न बाध्यता र विचौलीयालाई तरकारी बिक्रि गर्न बाध्य भएका किसानहरुलाई हाटबजारले सहजता ल्याउनेमा किसानहरु विश्वस्थ रहेका छन् । हाटबजारको संचालनमा व्यवस्थित बनाउन सके भीरकोटको आर्थिक चलायमान हुनेछ ।