रामेछाप, (नेस)।
तत्कालिन नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) बीच पार्टी एकीकरण भएको लामो समय पछि नेकपा रामेछापले ८ स्थानीय तहको नेतृत्व टुंग्याएको छ। शुक्रबार नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानको अध्यक्षतामा बसेको बैठकले आठै स्थानीय तहको अध्यक्ष, सचिव र तीन कार्यालय सदस्यसहितको नेतृत्व टुंग्याएको हो।
लामो समय पछि टुंगिएको नेतृत्वमा जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिका सहित पाँच स्थानीय कमिटिको अध्यक्षमा पूर्व एमालेका नेताहरू आएका छन् भने सचिवमा पूर्व माओवादी केन्द्रका नेताहरू परेहका छन्।
त्यस्तै रामेछाप नगरपालिका सहित तीन स्थानीय कमिटिको अध्यक्षमा पूर्व माओवादी केन्द्रका नेता र सचिवमा पूर्वएमालेका नेता परेका छन्। यसरी नेतृत्व विभाजनमा पूर्व एमालेको भागमा ६० प्रतिशत र पूर्वमाओवादीको भागमा ४० प्रतिशत परेको छ।
उमाकुण्ड गाउँपालिकाको सचिव बाहेक सबै पालिकाको अध्यक्ष र सचिवमा महिला परेका छैनन्।जिल्ला इन्चार्ज देवशंकर पौडेल, सह–इन्चार्जद्वय श्यामकुमार श्रेष्ठ, कैलाश ढुङ्गेल र पार्टी सचिव शान्तिप्रसाद पौडेलसहितको बैठकले नेतृत्वको टुंगो लगाएको सचिव पौडेलले जानकारी दिनुभयो।
अध्यक्ष र सचिव पदमा महिला त एक जना मात्रै पर्नुभएछ नी भन्ने हाम्रो प्रश्नमा प्रदेश तीनका सांसदसमेत रहनुभएका सचिव पौडेलले भन्नुभयो– ‘पूर्वएमाले र पूर्वमाओवादीमा तत्कालिन पार्टी नेतृत्वमा रहेका अध्यक्षहरूलाई नै अहिले अध्यक्ष र सचिव बनाउँने दुई समूहबीच भएको सहमतिअनुसार कमिटि गठन गरिएको हो।
त्यतिबेला पनि महिला हुनुहुन्थेन त्यसैले पनि पर्नुभएन। आगामी अधिवेशनमा महिला नेतृत्वलाई पनि दिन्छौं।’सचिव पौडेलका अनुसार बैठकले मन्थली नगरपालिकाको अध्यक्षमा कृष्णहरी अधिकारी र सचिवमा दिपक प्रसाइलाई चयन गरेको छ।
त्यस्तै कार्यालय सदस्यहरूमा निलकण्ठ श्रेष्ठ, रामबाबु घिमिरे र राजु कार्कीपरेका छन्। मन्थली नगरपालिकाको अध्यक्षको जिम्मेवारी पाउने अधिकारी मन्थली नगरपालिका वडा नम्बर १२ गेलुका वडाध्यक्षसमेत हुनुहुन्छ।











प्रतिक्रिया