लोकमानको पालाका ‘गुप्तचर’हरू अझै अख्तियारमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय अनुसन्धान विभाग मातहतका कार्यालयका सबै कर्मचारी दुई/दुई वर्षको कार्यकाल सकी फिर्ता भइसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएका गुप्तचरहरू अहिलेसम्म गएका छैनन्।

उनीहरू अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीको पालादेखि अख्तियारमा डगमगाएर बसिरहेको बुझिएको छ। ‘कर्मचारीलाई राहत होस् भन्दै तलबबाहेक अन्य सेवा सुविधा आउने कार्यालयमा ६/६ महिनामा फर्किने गरी कर्मचारी खटाउन गुप्तचरभित्र आचारसंहिता नै बनाइएको छ’, स्रोतले भन्यो– ‘तर चिफ सापहरूसामु यस्ता आचारसंहिताको अनुगमन हुने कुरै भएन। यस्ता कार्यालयमा आफ्नालाई नै बढी जोड दिइन्छ।’

आयोगमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरू पठाउने चलन छ।तर उनीहरूलाई त्यो कामभन्दा मन्त्री, गृहमन्त्रालयका पदाधिकारी, गुप्तचर प्रमुख विरुद्ध भ्रष्टाचारका मुद्दा परेकोनपरेको, परेको भए कसले कुन विषयमा गरेको हो, जस्ता विषयको सूचना दिन लगाइने गरेको पाइएको छ।

उक्त सूचनाले उजुरीकर्तालाई भेटेर प्रभावमा पारी उजुरी फिर्ता लिन वा उजुरीउपरको अनुसन्धान कमजोर पार्न यसरीे गुप्त सञ्जाल परिचालित गरिएको स्रोतले दावी गर्यो ।
विभागले यस्तो काम गर्न भन्दै नियमित प्रक्रियाअनुसार पठाएका उप–अनुसन्धान निर्देशक हुमाकान्त पाण्डे, उपअनुसन्धान निर्देशक लक्ष्मी पौडेल, अनुसन्धान अधिकृत पवन पाण्डे र असई किशोर धानुकबाहेक अरू फिर्ता भएका छैनन्।
विभागले उनीहरूलाई झण्डै ५ वर्षअघि अख्तियार पठाएको हो। उपअनुसन्धान निर्देशक हुमाकान्त पाण्डे र अनुसन्धान अधिकृत पवन पाण्डे गुप्तचरका पूर्वप्रमुख दिलिप रेग्मीका आफ्नै सालाहरू हुन्। गुप्तचरका लागि तलब बराबरको भत्ता आउने अड्डाका रूपमा लिइने अख्तियारमा अरूलाई मौकासमेत नदिई तिनीहरू बसिरहेका छन्।
उनीहरूले रेग्मीपछिका प्रमुख गणेश अधिकारीलाई समेत प्रभावमा राखी आफ्नो कार्यक्षेत्र सुरक्षित पारेका छन्। अख्तियारमा गएका गुप्तचरका लागि अधिकृत तह मुनिकालाई खाईपाई आएको तलबको ६५ र अधिकृतदेखि माथिकालाई खाईपाई आएको तलबको शतप्रतिशत भत्ता दिइने गरेको छ।