महिला खेलाडीले रचे इतिहास

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं।

हाल सञ्चालनमा रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला नेपाली खेलाडीले एकपछि अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।भलिबल, दौड, उसु, भारत्तोलन, पौडीलगायतका थुप्रै खेलमा इतिहास रचेपछि शनिबार नेपालका लागि थप इतिहास रच्नेमा एथ्लेटिक्सकी पुष्पा भण्डारी र कुस्तीकी संगीता धामी भएका छन्।

जनकपुरमा भएको ५५ केजी तौलसमूहमा संगीताले स्वर्ण जितेर इतिहास रच्नुका साथै नेपाललाई थप स्वर्ण पनि दिलाइन्। सागअन्तर्गत कुस्तीतर्फ कुनै पनि नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो। उनले बंगलादेशकी खेलाडीलाई हराएकी हुन्।

त्यस्तै म्याराथनको महिला विधामा पुष्पाले रजत पदक प्राप्त गरे पनि इतिहास बनाइन्। उनले म्याराथनको दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्ड समय खर्चिंदै नेपाललाई रजत पदक दिलाएकी हुन्। योसँगै उनी साग महिला म्याराथनतर्फ पदक जित्ने पहिलो महिला धाविका बनेकी छन्।

सो विधातर्फ पुष्पाले भारतीय धाविका ज्योति ग्वाटेलाई पछाडि पारेकी हुन्। सो विधातर्फ स्वर्ण जित्ने श्रीलंकाकी विजयारत्नेले निर्धारित दूरी २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा पूरा गरेकी छन्।अघिल्ला दिनमा पनि महिला खेलाडीले नमेटिने इतिहास रचेर जारी सागलाई नेपालका लागि अविस्मरणीय बनाइसकेका छन्।

एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनी एथ्लेटिक्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने पहिलो महिला नेपाली खेलाडी बनेकी हुन्। उनले भारतीय अनुभवी धाविका कविता यादवलाई १० मिली सेकेन्डमा पछाडि पारेर इतिहास रचेकी हुन्।

यस्तै पौडीमा गौरिका सिंहले पहिलो पटक सागमा नेपालको लागि व्यक्तिगतरूपमा स्वर्ण दिलाएर इतिहास रचेकी छन्। सागको ३५ वर्षको इतिहासमा गौरिकाले पहिलो पटक नेपाललाई पौडीमा एक होइन, अहिलेसम्म दुई स्वर्ण दिलाइसकेकी छन्। नेपालले सन् १९९९ मा भएको आठौं सागमा टिम इभेन्टमा पौडीतर्फ स्वर्ण जितेको थियो।

त्यो बेला पनि महिला टोली नै थिए।यसैगरी निमा घर्तीमगरले उसुमा इतिहास बनाइन्। उनी लगातार दुई सागमा स्वर्ण जित्ने पहिलो उसु खेलाडी बनेकी हुन्। गत १२औं सागमा नेपालले मात्र ३ स्वर्ण जित्दा निमाले पहिलो स्वर्ण नेपाललाई दिलाएकी थिइन्। यस्तै सन्जु चौधरीले सागको महिला भारोत्तोलनमा पहिलो पटक नेपाललाई स्वर्ण दिलाएकी छन्।

गौरिका सिंह
नीमा घर्ती मगर
सञ्जु चौधरी