कार्यकारी भूमिकापछि प्रचण्ड झन् सक्रिय

देशव्यापी अभियान थालिने

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।

पार्टी एकीकरण भएको १९ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले एकीकृतरूपमा देशव्यापी अभियान थाल्ने तयारी गरेको छ। एक वर्षअघि बसेको स्थायी समिति बैठकले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण उक्त निर्णय अहिलेसम्म कार्यान्वयन हुनसकेको छैन।

एकता भएसँगै शीर्ष नेताहरूले देशव्यापीरूपमा अभियान सञ्चालन गर्ने दर्जनौंपटक घोषणा गरे पनि कार्यान्वयनमा अहिलेसम्म आउन नसकेकाले पार्टी नेताहरूले अध्यक्ष प्रचण्डलाई तत्काल देशव्यापीरूपमा अभियान घोषणा गर्न दबाब दिन थालेका छन्।

एक वर्षसम्म विधि र प्रणालीभन्दा पनि संगठन परिचालनको कामलाई सीमित दायराभित्र राख्ने काम भयो।

कार्यकारी अध्यक्षको भूमिका पाएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सचिवालय बैठक बोलाउनुभएको थियो। अब स्थायी र केन्द्र्रीय समितिको बैठक बोलाई सोही बैठकबाट निर्णय गराएर देशव्यापी अभियान थाल्ने गृहकार्य भइरहेको अध्यक्ष प्रचण्डनिकट एक नेताले बताए।

उनका अनुसार पार्टीलाई अझै बलियो बनाउन देशव्यापी अभियान सञ्चालन गरिनेछ।नेकपाका नेता भीम रावलले एक वर्षअघि बसेको स्थायी समिति बैठकले गरेको निर्णय अझै कार्यान्वयन हुन नसकेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केन्द्रबाट निर्णय त भयो तर कार्यान्वयनमा आउन निकै ढिलासुस्ती भयो, अझै एकीकृतरूपमा अभियान सञ्चालन हुन सकेको छैन।

विधि र प्रणालीभन्दा पनि संगठन परिचालनको कामलाई सीमित दायराभित्र राख्ने काम भयो।’पार्टीले एकताको सन्देशसहित राष्ट्रियस्तरमा एकीकृतरूपमा अभियान सञ्चालन र भेला–प्रशिक्षण गर्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै थप्नुभयो– ‘पार्टीलाई सक्रिय र गतिशील बनाउन अभियानको खाँचो हुन्छ, पार्टी सदस्यता र नयाँ सदस्यता वितरण गर्न नसक्दा ठूलो व्यवधान उत्पन्न भएको छ।’

हुन पनि नेकपाको केन्द्रमा अहिलेसम्म सांगठनिक एकताको गाँठो फुके पनि स्थानीय किमिटीको एकताको गाँठो फुक्न सकेको छैन। पार्टीभित्र आन्तरिक गुटबन्दीका कारण स्थानीय कमिटीको एकता प्रक्रियाले गति लिन सकेको छैन। तीन नम्बर प्रदेशको काभ्रेलगायतका जिल्लाका स्थानीय कमिटीहरूको एकताले पूर्णता पाउनसकेको छैन।

यद्यपि नेकपा तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले एकता प्रक्रिया छिट्टो टुंगो लगाउन सम्बन्धित जिल्लालाई निर्देशन दिएको दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मंसिर २५ गतेदेखि पुस १० गतेसम्म प्रदेशका जिल्ला कमिटी बैठक बसेर एकताका बाँकी कामहरू सम्पन्न गरिनेछ।’

नेकपा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले पार्टीको निर्णयपछि देशव्यापी अभियान थालिने बताउँदै भन्नुभयो– ‘सचिवालयको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेपछि पार्टी र सरकारको कामलाई एकीकृत रूपमा जनतामाझ लैजानुपर्छ। स्कुल विभागले तयार पारेको कार्यविधि सचिवालयलाई दिने गरी काम भइरहेको छ।’

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने निर्णय भएसँगै प्रचण्डले पार्टीलाई गति दिन आन्तरिक गृहकार्य अगाडि बढाएको देखिएको छ। उहाँले कार्यकारी अधिकार पाएसँगै पहिलो पटक स्थायी समिति बैठक बोलाइसक्नुभएको छ।

अध्यक्ष प्रचण्डले अब बस्ने सचिवालय बैठकबाट स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय लिने तयारी गर्नुभएको छ। पार्टी एकतापछि गतसाल पुसदेखि अहिलेसम्म स्थायी समिति बैठक बस्न सकेको छैन भने केन्द्रीय समिति बैठक एकपटक पनि बसेको छैन। यस्तै पार्टी विधानअनुसार गठन हुनुपर्ने पोलिटब्युरो पनि अझै गठन भएको छैन।