निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन


सुर्खेत ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सरकारले घोषणा गरेका निःशुल्क स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको आज अनुगमन तथा निरीक्षण गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउन अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

राज्यमन्त्री रावतले स्वास्थ्य सेवाको नियमित अनुगमन गर्न स्थानीय जनप्रतिनिधि र अस्पताल व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । “संविधानप्रदत्त स्वास्थ्य सेवाको अधिकारको कार्यान्वयन गर्न स्थानीय र प्रदेश सरकारको पनि जिम्मेवारीमा पर्छ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले आवश्यक सहयोग गर्छ, तर अस्पताल व्यवस्थापन र स्थानीय जनप्रतिनिधि उपलब्ध साधनस्रोतको अधिकतम लाभ सर्वसाधारण नागरिकले पाउने सवालमा सचेत हुनैपर्छ ।” स्रोतको दुरुपयोग हुन नदिनका लागि ख्याल गर्न पनि उहाँले सचेत गराउनुभयो ।

मेहेलकुना अस्पताललाई सुविधासम्पन्न बनाउन सके गुर्भाकोट नगरपालिकाका साथै भेरीगङ्गा नगरपालिका, चिङ्गाड, सिम्ता गाउँपालिका जाजरकोट र पश्चिम रुकुमका नागरिकले स्वास्थ्योपचार पाउने राज्यमन्त्री रावतको भनाइ थियो ।
सो अस्पतालमा हाल १८ श्यया मात्र सञ्चालनमा छ । अब ५० श्यया सञ्चालनका लागि भवन निर्माण भइरहेको छ । मेहेलकुना अस्पतालाई नमूना अस्पताल बनाउन सबैको प्रयासको जरुरी रहेको बताउँदै उहाँले चिकित्सकलाई निजी क्लिनिकमा केन्द्रित नहुन सचेत गराउनुभयो ।

“दुर्गम क्षेत्रमा चिकित्सक नबस्ने समस्या छ, सरकारी कोटामा छात्रवृत्ति पाएर दुर्गममा सेवा नगर्ने चिकित्सकप्रति सरकार कडा कदम चाल्न बाध्य हुनेछ”, उहाँले भन्नुभयो ।

गृह जिल्ला सुर्खेत आउनुभएका राज्यमन्त्री रावतसँग अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिषकुमार मिश्रले अस्पतालमा एम्बुलेन्सका साथै दरबन्दीअनुसारका कर्मचारीको अभाव रहेको बताउनुभयो । डा मिश्रले गत वर्षमा मात्र ३९ हजार १७८ बिरामी भर्ना भएको तथा ३० हजारले औषधिको प्रयोग गरेको जानकारी दिनुभयो ।
रासस