शिक्षामन्त्रीका निजी सचिवको महानगरमा चलखेल, आकांक्षीको संख्या धेरै


ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकाल काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुखमा सरुवा हुन चलखेल गरिरहनुभएको छ। मन्त्रालयका उपसचिव निर्मला केसीको अवकाश हुने भएपछि मंसिर अन्तिमदेखि कामपा शिक्षा विभाग खाली हँुदै छ।

ढकाल धनुषाको नगराइन नगरपालिकामा हाजिर नभई सोर्सफोर्सकै आधारमा चितवनको माडी नगरपालिका शिक्षा प्रमुखमा हाजिर हुन पुग्नुभएको हो।

माडी नगरपालिका शिक्षा शाखा प्रमुख भए पनि अधिकांश समय शिक्षा मन्त्रालयमा काम गरिरहनुभएका ढकाल मन्त्रीकै पहलमा महानगरपालिका आउन खोजिरहनुभएको छ।

मन्त्री पोखरेलले निजी सचिव ढकाललाई कामपा शिक्षा विभागमा सरुवा गर्न स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला र कामपाका प्रमुख प्रशासकीय अधिकृत (सचिव) केदार न्यौपानेलाई आग्रह गरिसक्नुभएको छ।

‘महानगरपालिकामा खाली द्महुने जानकारी पाउनासाथ मन्त्री पोखरेलले दुई सचिवलाई मन्त्रालयमै बोलाएर समायोजन गरी महानगरमा राख्न आग्रह गरिसक्नुभएको छ।’ –कामपा स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।

कुनै पनि स्थानीय निकायमा समायोजन गर्न सामान्य प्रशासन मन्त्रालयको स्वीकृत लिनुपर्छ। स्रोतका अनुसार मन्त्रीका अधिकांश योजना, कार्यविधि, ऐनको मस्यौदा, नीति तथा कार्यक्रम निर्माण गर्न महवपूर्ण भूमिका खेल्दै आएका ढकालले मन्त्रीलाई पटकपटक कामपामा सरुवा गरिदिन आग्रह गरिसक्नुभएको छ। मन्त्रीले मन्त्रालयका महाशाखा प्रमुख सहसचिव र अन्य उच्च तहका कर्मचारीको भन्दा निजी सचिव ढकालकै बढी विश्वास गर्ने गर्नुभएको छ।

पछिल्लो समय ढकाल र मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख कृष्णप्रसाद काप्रीको सल्लाहमा अधिकांश योजना र नीति बनाउने गर्नुभएको छ। त्यही भएर मन्त्रालयले तयार गरेको अधिकांश कार्यविधि, मस्यौदाको विषयमा विवाद हुने गरेको छ। यसको पछिल्लो उदाहरण शिक्षा नीतिलाई लिन सकिन्छ। सरोकारवालासँग सल्लाह नै नगरी सहसचिव काप्रीलगायत केही कर्मचारी र सचिवालयमा कार्यरत ढकाललगायत कर्मचारीको सल्लाहमा नीति निर्माण गरी नीति आएको भनिएको एक महिना बितिसक्दा पनि सो नीति सार्वजनिक हुन सकेको छैन।

मन्त्री पोखरेलले गएको कात्तिक २१ गते पत्रकार सम्मेलन गरी सरकारले नीति पारित गरेको बताउनुभएको थियो। सोही दिन उहाँले शुद्धाशुद्धि हेर्नुपर्ने भएकाले एक–दुई दिनमै सार्वजनिक गर्ने बताउनुभएको थियो। तर एक महिना बितिसक्दा पनि नीति सार्वजनिक नभएपछि मन्त्रीले चर्को आलोचना खेप्नुपरेको छ।

मन्त्री पोखरेलले करिब एक वर्षअघि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो। सो प्रतिवेदनसमेत सार्वजनिक नभएपछि मन्त्रीमाथि आलोचना बढेको छ।

माडी नगरपालिका जानुअघि गोदावरी नगरपालिकामा सरुवा हुन अन्तिम समयसम्म पहल गर्नुभएका ढकाललाई गोदावरी नगरपालिकाले शिक्षा शाखा प्रमुख बनाउन अस्वीकार गरेको थियो। त्यसपछि उहाँलाई मन्त्रीको सहजताका लागि भन्दै माडी नगरपालिका सरुवा गरिएको थियो।

चौतर्फी दवाव आएपछि मन्त्रीले उहाँलाई माडी पठाउनुभएको थियो। ‘माडी नगरपालिकाका शिक्षा शाखा प्रमुखमा सरुवा भएपनि उहाँ अधिकांश समय मन्त्रालयमै देखिनुहुन्छ’ –मन्त्रालय स्रोतले भन्यो। देशकै जेठो महानगरपालिका भएकाले अधिकांश शिक्षाका उपसचिवको महानगरपलिकामा आउने चाहना देखिएको छ।

ढकालपछि शंखरापुर नगरपालिकामा कार्यरत उपसचिव बौद्धराज निरौलाले पनि कामपा रोज्नुभएको छ। कामपा रोज्ने उपसचिवको संख्या झन्डै तीन दर्जनभन्दा बढी रहेको कामपाले जनाएको छ। अधिकांश उपसचिवले मन्त्री, नेतामार्फत कामपामा सरुवा गरिदिन मेयर विद्यासुन्दर शाक्यलाई दवाव गरिरहेका छन्। दर्जनौं उपसचिवले कामपामा आउन आग्रह गर्दै कतिपयले कामपामा पत्रसमेत पठाएका छन्।

यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत उपसचिव गोविन्द शर्मा, लामो समयदेखि बर्दियास्थित एक स्थानीय निकायमा समायोजनमा परेर पनि राष्ट्रिय युवा परिषद्मा काम गरिरहनुभएका उपसचिव ध्रुव पौडेल, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत शिक्षाका उपसचिव रामप्रसाद सुवेदीलगायतका उपसचिव कामपाको शिक्षा विभाग प्रमुख हुने दौडमा लागेका छन्।

तर कामपाले मन्त्रीका निजी सचिव ढकाल वा अन्य कर्मचारीमध्ये कसलाई नियुक्त गर्ने भन्ने विषयमा निर्णय गरेको छैन। कामपा स्रोतका अनुसार भनसुनभन्दा पनि विगतमा काम गरेको र कामपाको शिक्षा हाँक्नसक्ने उपसचिवलाई शिक्षा विभाग प्रमुखका ल्याउने तयारी गरिरहेको छ।