उत्कृष्ट तीन स्वयम् सेवकलाई एक–एक लाख रुपैया पुरस्कार

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ट तीन स्वास्थ्य स्वयम् सेवकलाई एक–एक लाख रुपैया सहित सम्मानित गर्ने भएको छ । विश्व स्वयम सेवक दिवस तथा १६ औं महिला स्वयम सेविका दिवस २०७६ को अवसरमा ललितपुर महानगपालिकाले आयोजना गरेको स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनले सो घोषणा गनुभएको हो ।

मेयर महर्जनले ‘ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिको सिफारिसमा आर्थिक वर्ष २०७६÷७७ मा उत्कृष्ट हुने दुई जना महिला स्वास्थ्य स्वयंसेविका र एक जना पुरुष स्वास्थ्य स्वयंसेवकलाई एक–एक लाख पुरस्कार सहित सम्मान गरेको जानकारी दिनुभयो । मेयर महर्जनले महिला स्वास्थ स्वयमसेविका र स्वास्थ्य स्वयमसेवकहरुले उल्लेखनीय काम गरेका कारण स्वदेश तथा विदेशमा उच्च प्रशंशा भइरहेको बताउनुभयो । उहाले भन्नुभयो– ‘स्वास्थ्य सेवामा यहाँहरुले गर्नु भएको योगदानको कारण दश वर्षको दौरानमा एचआइभी पोजेटिभ भएका विरामीहरुको संख्याा ५८ प्रतिशत घट्न सफल भएको छ ।’

उपमेयर गीता सत्यालले स्वास्थ्य स्वयम्सेवकहरुले अमुल्य कामह गरेको बताउनुभयो । उपमेयर सत्यालले भन्नुभयो–स्वास्थ्य स्वयंसेविकाहरुले यति राम्रो काम गर्नुभएको छ । सायद तपाईहरु त्यो ठाउँमा हुनुहुन्नथ्यो भने हरेक गाउँटोलमा मानिसहरुले अकालमा मृत्युवरण गर्नुपथ्र्यो ।’ स्वयम् सेवकले आफ्नो मनबाट स्वतन्त्र रुपले हरेक घरघरमा, टोलटोलमा गएर गरेको कामले स्वयमसेविका प्रति सम्मान गरेको बताउनुभयो । ‘हरेकको ललितपुर महानगरपालिकाले स्वास्थ्यको नीति बनाउँदा महिला स्वयंसेविकाहरुको मागहरुलाई सम्बोधन गर्ने गरी समावेश गरेर जाने उहाको भनाई थियो । उपप्रमुख सत्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानका कारण मातृ मृत्युदर, बाल मृत्युदर घट्न गएको वताइन् ।

ललितपुर महानगरका स्वास्थ सल्लाहकार डा मदनकुमार पियाले विश्वमा ११ करोड स्वयंसेवक रहेको र त्यसमा ६० प्रतिशत महिला स्वयंसेविका रहेका वताए । स्वयंसेविकाहरुले महामारी र विपत्तिको वेलामा मद्दत गर्ने हुनाले त्यसबाट समाजमा सकरात्मक फाइदा पुगेको बताउनुभयो । ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले स्वास्थ्य स्वयम्सेवीहरुले आमाले जस्तै निश्वार्थ सेवा गर्ने भएकोले उनीहरुलाई सानो सहयोग गरेको बताउनुभयो । प्रदेश नं.३ ललितपुरका स्वास्थ कार्यालय प्रमुख डा. खगेश्वर गेलालले पूरै जीवन समुदायका लागि समर्पित गर्ने स्वयमसेविकाहरुलाई प्रोत्साहित गरेर उनीहरुको जीवन र स्वास्थ्यको सुरक्षाको प्रत्याभूति दिएर समुदायको स्वास्थ्य स्तरलाई अझ राम्रो र प्रभावकारी बनाउन सकिने बताउनुभयो । स्वास्थ क्षेत्रमा प्रगति हासिल गर्न स्वयमसेवीहरुको महत्वपूर्ण योगदान रहेको उहाको भनाई थियो ।

‘गाउँ नगरमा महिला स्वास्थ स्वयमसेविका, स्वास्थ प्रवद्र्धनमा अहम भूमिका’ भन्ने नाराका साथ सम्पन्न स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुर महानगरले वडा स्वास्थ्य कार्यान्वयन समितिका उत्कृष्ट सदस्यहरु, उत्कृष्ट टिवी ट्रेसर, उत्कृष्ट टोल हेल्थ प्रमोटरलगायत ८३ जनालाई सम्मान तथा पुरस्कृत गरेको हो । ललितपुर महानगरमा ५ सय ६८ जना स्वास्थ स्वयंसेविकाहरु क्रियाशील छन् ।