उदीयमान अरूणा र कल्पना

0
Shares

कविरस शर्मा, काठमाडौं।

तीन पटक मिति सारेर पनि अन्ततः १३औं दक्षिण एसियाली खेलकुद (साग) आइतबारबाट औपचारिक रूपमा शुरु भइसकेको छ। हुन त प्रतियोगिताको औपचारिक उद्घाटन हुनु ४ दिनअघि नै भलिबल प्रतिस्पर्धाबाट १३औं सागको सुरुआत भएको हो। त्यही समयमा खेलाडी विदेशिएको घटनाले नेपाली खेलकुदलाई आहत पनि पुर्यायो।

उक्त घटनाले एथ्लेटिक्सलाई मात्र होइन, सम्पूर्ण नेपाली खेल जगतलाई धक्का लागेको छ। ४ सय मिटरका प्रतिस्पर्धी तुलसा खत्री विदेशीएपछि आयोजक राष्ट्र नेपालले पदकका एक आशावादी खेलाडी गुमाउनुपर्यो। तर एथ्लेटिक्सकै महिला खेलाडी सन्तोषी श्रेष्ठले स्वर्ण जितेर उक्त घटनालाई भुलाएकी छन्।

 

एथ्लेटिक्सको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली महिला धाविका बनिन्। त्यतिमात्र होइन, बिदेसिएकी तुलसाको रिक्तता भर्ने खेलाडी पनि उपलब्ध भइसकेको छ। किशोर खेलाडी अरूणा रिजालले उक्त स्पर्धा प्रतिस्पर्धा गर्ने भएकी छन्।

रिजालले खत्रीको स्थानमा खेल्ने भएपछि नेपाली एथलेटिक्सलाई राहत मिलेको छ। रेकर्डअनुसार खत्रीको नाममा उक्त स्पर्धा ५९ सेकेन्ड्स रहेको छ। तर अरूणाले भने छनौट चरणमा गरेको उत्कृष्ट प्रदर्शन भने ६१ सेकेन्ड्स हो।

यस स्पर्धामा एक सेकेन्ड्सको पनि धेरै महत्व हुने गर्छ। तर रिजालले भने आफ्नो पछिल्लो प्रदर्शनमा सुधार गर्ने बताइन्। १३औं साग सुरु हुनै लाग्दा संगसँगै ट्रेनिंग गर्ने साथी विदेसिँदा दुःख लागेको बताउने अरूणाले १३ औं सागमा पदक जित्छु भन्ने आत्मविश्वास बढेको बताइन्। अरूणाले उक्त घटनाले आफूलाई मनोवैज्ञानिक असर नपरेको बताइन्।

खत्रीको बहिर्गमनसँगै रिलेको टिम सेटिंगमा समेत असर परेको थियो। तर अहिले उक्त स्पर्धामा पनि अरूणाले नै खेल्ने पक्का भएको राष्ट्रिय टिमका प्रशिक्षक राकेश वज्राचार्य बताउनुहुन्छ। अरूणाले मंसिर १९ गते ४ सय मिटर फ्ल्याट, २० गते ४ सय रिले र २१ गते १ सय मिटर रिले इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन्।

पदक भने रिलेका इभेन्ट्सबाट आउने प्रबल सम्भावना रहेको प्रशिक्षक वज्राचार्य बताउनुहुन्छ। पदकको आशाको कुरा गर्दा कल्पना श्रेष्ठ पनि अर्का उदियमान किशोरी खेलाडी हुन्। आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेकी कल्पना १८ वर्ष मुनिका खेलाडी हुन्। उनले जारी १३औं सागमा स्वर्ण जित्ने लक्ष्य रहेको बताइन्।

सोहीअनुसार ट्रेनिङ पनि गरेको बताइन्। उनले भनिन्,–‘भारत र श्रीलंका नै हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो। ४ सय मिटर हर्डल्स र फ्ल्याटका लागि प्रशिक्षक राकेश वज्राचार्यले प्रशिक्षण गराउँदै आउनु भएको छ। सुरुमा भने चन्द्रबहादुर गुरुङले प्रशिक्षण गराउनुभएको थियो।’

आगामी शुक्रबार दुवै इभेन्ट्समा प्रतिस्पर्धा गर्ने कल्पनाको पदक सम्भावना प्रबल छ। प्रदर्शनको कुरा गर्दा उनले ४ सय मिटर हर्डल्स १ मिनेट ७ सेकेन्ड्समा पूरा गरेकी छन्। ४ सय मिटर रिलेमा भने उनीसँगै अरूणा रिजाल, संगीता मेचे र कृष्णा चौधरी दौडिनेछन्।