कला संस्कृति झल्किने मयूरका झ्याल सेनालाई उपहार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ।

भक्तपुर नगरपालिकाले नेपाली सेनालाई भक्तपुरको कला संस्कृति झल्किने मयुरका झ्याल हस्तानतरण गरेको छ। उक्त मयूर झ्याल प्रधानसेनापति पूर्णचन्द्र थापालाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले हस्तान्तरण गर्नुभएको हो।

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्वार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्व तर्फको खेल मैदान सर्वसाधारण युवालाई प्रयोग गर्नका लागि पुर्याएको योगदानको कदर गर्दै भक्तपुर नगरपालिकाले नेपाली सेनालाई उक्त मयूर झ्याल प्रदान गरेको हो।

यस्तै सोही कार्यक्रममा नेपाली सेनाबाट पनि भक्तपुर नगरपालिकालाई धन्यवाद स्वरूप सम्झनाको चिनो प्रदान गरिएको थियो।प्रधानसेनापति थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्न क्षेत्रहरूमा त्यहाँको ऐतिहासिक महत्व,मौलिक सस्कृति,परम्परा र सम्पदाहरूको संरक्षण एवं सम्वद्र्ध्धन गरी नागरिक–सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नका लागि विभिन्न काम भइरहेको बताउनुभयो।

उहाँले नेपाली सेनाले पुराना ऐतिहासिक सम्पदा तथा इतिहासको जगेर्ना गरी त्यसबारे राष्ट्रिय सेवादल तालिममार्फत् नयाँ पुस्तालाई जानकारी गराउँदै आएको बताउँनुहुँदै वातावरण तथा पर्यावरण संरक्षणका लागि समेत भक्तपुर नगरपालिकाले केही कार्यक्रम ल्याएमा सहकार्य गर्न नेपाली सेना तयार रहेको बताउनुभयो।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेपाली सेनाले कला, सस्कृतिले भरिपूर्ण भक्तपुरको जीर्ण अवस्थामा रहेको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार र संरक्षण गरी सर्वसाधारणको लागि खुल्ला गरेकोले जनता र सेनाबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताउनुभयो।

यसैगरी उहाँले २०७२ सालको विनासकारी भूकम्पमा भक्तपुरमा नेपाली सेनाले गरेको उद्दार लगायत अन्य कार्यको प्रशंसा गर्दै विपद्को बेला नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्दै हाल नेपाली सेनासँगको सहकार्यमा भक्तपुरका १ सय २२ जना युवालाई विपद् व्यवस्थापन तथा उद्दार सम्बन्धी तालिम प्रदान गरिएकोले यस्ता कार्यले जनता र सेनाबीचको सुमधुर सम्बन्धले निरन्तरता पाउने बताउनुभयो।