नमुना बस्तिमा अष्ट्रेलियाको वास फर यूमेन अर्गनाइजेसनको टोली


पुष्कर बुढाथोकी, भक्तपुर ।

चाँगुनारायण नगरपालिकाको नगरकोट फेदिस्थित ५२ घरमा सुरु गरिएको नमुना बस्तिको अष्ट्रेलियाको वास फर यूमेन अर्गनाइजेसनबाट आएको टोलीले अवलोकन गरेका छन् ।

एलियासको नेतृत्वमा आएको सार्क राष्ट्र लगायत विभिन्न देशबाट आएका २५ सदस्यीय टोलीले आएको टोलीले स्थलगत अवलोकन गरेको हो ।

हाल सर्लाही र उदयपुरमा समेत नमुना बस्तीमा काम गरिरहेको छ, वास फर यूमेन अर्गनाइजेसनले काठमाडौंका ग्रामीण बस्तीहरुमा नमुना बस्तीको स्थिति जान्नका लागि नगरकोट फेदिमा पनि अवलोकन गरेका हुन् ।

उनीहरुले बस्तिको अवस्था, सरसफाई, शौचालयको सफाई, साबुनको प्रयोग, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, घरबाट निस्कने फोहोरको व्यवस्थापन, अर्गानिक साग सब्जि तरकारीको प्रयोग र नमुना समुदायभित्र होमस्टे संचालनको अबस्थाबारे अवलोकन गरेका छन् ।

नमुना बस्तिको शुरुवात संगै पछिल्ला दिनमा २ घरबाट होमस्टेको शुरुवात गरिएको छ । “सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो पूर्ण सरसफाई उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ पूर्ण सरसफाई तर्फ अग्रसर नगरकोटको फेदि नमुना समुदायमा ५२ घरहरुले ५२ सदस्य टोली बनाई आफ्नो ठाउँलाई स्वच्छ, सफा, दिसा पिसाब मुक्त हराभरा ठाँउ र विषाधिमुक्त तरकारी तथा अर्गानिक खानेकुराको थालनी गर्न तयारी गरेको नगरकोट वडा नं.६ का वडा संयोजक नानुमैया गिरीले जानकारी दिनुभयो ।

नगरकोटको बास्तोला गाँउमा संचालनमा रहेको १७ वटा होमस्टे मध्य २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि अहिले ८ वटा होमस्टे संचालन भइरहेको नगरकोट सामुदायिक होमस्टेका उपाध्यक्ष तथा होमस्टे एशोसियसन नेपालका केन्द्रिय सदस्य राजकुमार लामिछानेले जानकारी दिनुभयो । आगामी दिनमा १७ वटा होमस्टे संचालनका लागि तयारी भइरहेको समेत लामिछानेले जानकारी दिनुभयो ।

नमुना बस्तीमा अवलोकनका लागि नमुना बस्तिको टोल संयोजक रुपा गजुरेलले अबका दिनमा नमुना बस्तीले बनाएको आँचार संहिता अनुसार सरसफाईलाई ध्यान दिई अर्गानिक खानेकुरामा प्राथमिकता दिने र यो ठाँउलाई भक्तपुर जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउने उहाँले बताउनुभयो ।

होमस्टे एसोसिएसन नेपालका केन्द्रिय सदस्य राजकुमार लामिछानेले विदेशी तथा स्वेदेशी पाहुनाहरुको लागि कोठाको व्यवस्थापन गरिएको बताउदै होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्ने कोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुन लगायत आवश्यक सबै सामान राखिएका बताउनुभयो ।

पाहुनाका लागि खाना र बस्नका लागि प्याकेज र मेनु बनाइएको छ । नगरकोट फेदी नमुना बस्तिको चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले उद्घघाटन गर्नुभएको हो ।

कार्यक्रममा मेयर मिश्रले चाँगुनारायणको विकासको लागि गर्न सकिने सम्भाव्यताको विषयमा र सुधार गर्नुपर्ने पक्षका विषयमा विदेशी २५ जना टोलिलाई प्रस्तुतिका साथ जानकारी दिनुभएको थियो ।

कार्यक्रममा यस ठाउँको विकासको लागि सधै नगरपालिको साथ र सहयोग रहेको बताउदै आगामी दिनमा यो नमुना बस्ति मात्र नभएर यहाँ विदेशी तथा स्वदेशी पर्यटकका लागि आगमन स्थलको रुपमा विकास गर्नका लागि सरसफाइमा ध्यान दिई अर्गानिक खानेकुराको मात्रै प्रयोग गरी होमस्टेको रुपमा विकास गर्न सकिने सम्भाव्यता भएको बताउनुभयो ।