सडक मर्मतको माग गर्दै स्थानीयद्धारा निकोसेरा सडक खण्ड अवरोध

0
Shares

भक्तपुर,(नेस) ।

मध्यपुर थिमि नगरपालिका अन्तर्गत निकोसेरा सडकखण्ड लामो समयसम्म पनि मर्मत नगरिएपछि स्थानीयवासीहरुले सडक अवरोध गरेका छन् । सडकमा जहिले पनि पानी जमिरहने भएकाले सडक बिग्रेको हो। जहिले पनि पाइपलाइन फुटेर चुहावट हुँदा पानी जमिरहने भएकाले सडक बिग्रेको स्थानीय बताउँछन्।

पानी पर्दा हिलो र घाम लाग्दा धुलो यो सडकको नियति बनेको छ । निकोसेरा सडक खण्ड भक्तपुर–काठमाडौं आवतजावत गर्न अरनिको राजमार्गको वैकल्पिक सडक हो। अरनिको राजमार्ग अवरुद्ध हुँदा काठमाडौं आउजाउ गर्न यो एउटै मात्र वैकल्पिक बाटो हो।

सल्लाघारीबाट नयाँ ठिमी ,गठ्ठाघर, कौशलटार, लोकन्थली, जडीबुटी चोक भएर अरनिको राजमार्गबाट काठमाडौं पुग्न सकिन्छ भने सल्लाघारी, निकोसेरा, पुरानो ठिमी, सानो ठिमी ,पेप्सीकोला हुँदै जडीबुटी चोक भएर यो वैकल्पिक मार्गमार्फत काठमाडौं पुगिन्छ ।

यो सडक महत्वपूर्ण भएर पनि सम्बन्धित निकायले निर्माणमा बेवास्ता गर्दा स्थानीय आक्रोशित छन्। वर्षैभरि सडक बनाएर कमिसन खानका लागि सडक राम्रोसँग नबनाइएको स्थानीयको आरोप छ।

सडक मर्मत गर्न नगरपालिका, सडक विभाग, खानेपानी विभाग र जनप्रतिनिधिलाई पटकपटक आग्रह गरे पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

कतै जाँदा पनि गुनासो सुनुवाई नभएको भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।समयमै समस्या समाधानमा सरोकारवाला निकायले चासो नदिए थप संघर्ष गरिने उनीहरुको भनाई छ ।