नेपाली कृषि उद्यमीलाई इजरायली सहयोग ‘कृषि तारा’ कार्कीलाई

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

इजरायलमा तालिम लिई नेपाल फर्केका कृषि उद्यमीमध्ये प्रतिस्पर्धामा सर्वोत्कृष्ट सावित सुर्खेतका दीपेन्द्र कार्कीलाई काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमका बीच ‘कृषि तारा’ नामक पुरस्कार प्रदान गरियो।

नेपालको स्थापित व्यापारिक घराना खेतान परिवारद्वारा सञ्चालित गैरसरकारी संस्था आभास फाउन्डेसनसँग मिलेर यहाँस्थित इजरायली राजदूतावासले सो पुरस्कार प्रदान गरेको हो। दुवै संस्थाको पहलमा प्रदान गरिएको यस प्रकारको पुरस्कार इजरायलबाट फर्केका कृषि उद्यमीहरूका लागि पहिलो हो।

‘इजरायलको सिक र कमाऊ नामक कार्यक्रमअन्तर्गत नेपालमा कृषि क्षेत्रमा सिर्जनात्मक तथा प्राविधिक दक्षताका साथ काम गर्ने उद्यमीलाई यो पुरस्कार प्रदान गरिन्छ।’ इजरायली राजदूतावासले जानकारी गराएको छ। राजदूतावासले साना किसान विकास वित्तीय संस्थाको सहयोगमा कृषि उद्यमीलाई सघाएको पनि जनाएको छ।

इजरायलमा २०७० सालदेखि दुई हजार सात सय नेपालीले कृषि तालिम प्राप्त गरिसकेका छन्। कृषि तारा पुरस्कार पाँच लाख रुपियाँ राशिको छ। पुरस्कार वितरण समारोहमा अन्य नौ प्रतिस्पर्धीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।

पुरस्कार तथा प्रशंसापत्र कृषि तथा पशु विकास मन्त्रालयका सचिव डा. युवकधोज जीसीले प्रदान गर्नुभएको थियो। कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमरले नेपाली कृषि उद्यमीहरूको सीप र क्षमताको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यले इजरायली सरकारले आफ्नो विविध समस्याका बाबजुद नेपाली कृषकलाई प्रोत्साहित गरेकोमा आभार प्रकट गर्नुभएको थियो।