अपांगता भएकाबाट लिफ्ट उद्घाटन

0
Shares

नेपाल समाचारपत्र, ललितपुर

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन मंगलबार निकै खुसी देखिनुभएको थियो। अपांगता भएका व्यक्तिहरू लिफ्ट चढेर आफ्नो कार्यकक्षमा पुगेका कारण आफू खुसी भएको प्रमुख महर्जनले बताउनुभयो।

त्यसबेला बधाई थाप्न उहाँ आफैं भुइँ तल्लामा ओर्र्लिनुभयो। ह्विल चियरमा आएकासँग उहाँले जतिसक्दो छिटो लिफ्ट बनाउने प्रतिबद्धता गर्नुभयो। त्यही लिफ्टको उद्घाटन कार्यक्रम जसले नगरप्रमुखलाई खुसी दिलायो।

उहाँले भन्नुभयो– ‘निर्वाचनमा विजयी हुँदा मलाई जस्तो खुसी लागेको थियो, अहिले त्यस्तै खुसी छु।’ साढे दुई वर्षअघि आफूले अपांगता भएका व्यक्तिहरूसँग गरेको प्रतिबद्धता पुरा भएकोमा खुसी लागेको छ।

महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भए लगत्तै प्रमुख महर्जनलाई बधाई दिन अपांगता भएका व्यक्तिहरू महानगरको कार्यालयमा आएका थिए। तर, महानगरमा लिफ्ट थिएन। उहाँले भन्नुभयो– ‘मलाई त्यत्तिखेर साह्रै नरमाइलो लाग्यो, २१औं शताब्दीको सार्वजनिक ठाउँमा लिफ्ट छैन भन्ने कुराले बिचल्लित बनायो।’

त्यसबेला बधाई थाप्न उहाँ आफैं भुइँ तल्लामा ओर्र्लिनुभयो। ह्वीलचियरमा आएकासँग उहाँले जतिसक्दो छिटो लिफ्ट बनाउने प्रतिबद्धता गर्नुभयो। त्यही लिफ्टको उद्घाटन कार्यक्रम जसले नगरप्रमुखलाई खुसी दिलायो।

अपांगता भएका व्यक्तिहरूलाई महानगरको कार्यालयसम्म सजिलै पुग्न सहज बनायो। लिफ्टको उद्घाटन ह्वीलचियर प्रयोगकर्ता भोजराज श्रेष्ठ र अञ्जना लामाले गर्नुभएको थियो। अञ्जना बौद्धिक अपांगता भएकी किशोरी हुनुहुन्छ।

प्रमुख महर्जनले महानगरभित्र निर्माण भइरहेका सार्वजनिक संरचनाहरू अपांगतामैत्री भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘फुटपाथ पनि हामीले अपांगतामैत्री बनाइरहेका छौं।

‘केही दिनअघि महानगरले आयोजना गरेको खेलकुद प्रदर्शनीमा एक्कैछिन आँखामा पट्टी बाँधेर खेल्दा त धेरै असजिलो महसुस भयो, उहाँहरू सधंै त्यस्तो अवस्थामा गुज्रिँदा कति गाह्रो होला।’ –नगर प्रमुख मर्हजनले भन्नुभयो। प्रमुख महर्जनले अपांगतामैत्री क्याब (ट्याक्सी) महानगरमा भित्र्याउने तयारी भइरहेको जानकारी दिनुभयो

‘यस्ता ट्याक्सी केही संख्यामा ल्याउने तयारी भइरहेको छ , ती ट्याक्सी आए, उहाँहरूको जीवन केही सजिलो हुन्छ।’ उपप्रमुख तथा अन्तर्राष्ट्रिय अपांगता दिवस कार्यक्रमका संयोजक गीता सत्यालले महानगरभित्रका अपांगता भएकाहरूलाई परिचयपत्र वितरण गरिरहेको बताउनुभयो।

ललितपुर महानगरले २८औं अन्तर्राष्ट्रिय अपांगता दिवसको दिन पारेर लिफ्ट उद्घाटन कार्यक्रम तय गरेको थियो। महानगरले अपांगता भएकाहरूको आत्मबल बढाउन अपांगता खेलकुद प्रदर्शनी आयोजना गरेको थियो। प्रमुख महिला विकास अधिकृत महेश्वरी विष्ट रावलले अपांगता भएकाहरूको समस्या सम्बोधन गर्न महानगरले योजनाबद्ध ढंगबाट काम गरिरहेको बताउनुभयो।

महानगरका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनका अनुसार अत्याधुनिक यो लिफट्को क्षमता एक हजार किलो रहेको छ। दुईतर्फ ढोका भएको यसमा सिसाको प्रयोग भएकाले पारदर्शी छ।

लिफ्ट उद्घाटनपछि पुल्चोकस्थित महानगर कार्यालयबाट शुरु भएकोर्याली मंगलबजार पुगेको थियो। त्यहाँ अपांगता भएका बालबालिकाले सन्देशमूलक नाटक, नाँच र गीत प्रस्तुत गरेका थिए।