बाँदर आतंकले बाली भित्र्याउन सकिएन, बैतडीमा ६ हजार खेतीयोग्य जमिन बाँझै


नेपाल समाचारपत्र, बैतडी

दशरथचन्द नगरपालिका वडा नम्बर–५,७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि वर्षेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन्। बाँदरले खेतमा लगाएको वर्षेबाली सखाप पारेपछि भित्र्याउन नपाइएको स्थानीयले जानकारी दिएका छन्।

गत ५ वर्ष यता खेतमा लगाएको बाली भित्र्याउन नपाएको डम्बर टमाटाले गुनासो गर्नुभयो। ‘बाँदरले सबै बाली नष्ठ गर्दा खेतमा लगाएको अन्न भित्र्याउन पाइएन, उहाँले भन्नुभयो–‘पाँच वर्ष यता खेतमा लगाएको अन्न कत्ति पनि भित्र्याउन सकेको छैन्।’ बाँदरले खेतमा लगाएको अन्न बाली, फलफूल र तरकारी नष्ट गरेपछि स्थानीय बासिन्दाले हैरानी खेप्नुपरेको छ।

बाँदर आतंक रोक्नका दशरथचन्द नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको छ। नगरपालिकाले तयार गरेको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना बाँदर आतंकले किसानहरू हैरान भएको तथ्यांक रहेकाले बजेट विनियोजन गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो। नगरपालिकाले बजेट विनियोजन गरेपनि बाँदर नियन्त्रण गर्ने उपाय भने खोज्न नसकेको उहाँले बताउनुभयो। नगरबासीहरूले बाँदर नियन्त्रणको माग गरेकोले बजेट विनियोजन गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो।

बैतडीमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझै रहन थालेको छ। जंगली जनावरको आतंक र बसाइसराईका कारणले ६ हजार हेक्टर खेतीयोग्य जमिन बाझैं रहेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ।

बैतडीमा ३१ हजार ४ सय ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको भएपनि हाल २५ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार किसानहरूले बाँदर र बदेंलको आतंकले बढीजसो खेती योग्य जमिन बाझैं छोड्ने गरेको बताउनुभयो। वि स २०७४/०७५ मा २० हजार ९०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिदै आएको भएपनि हाल घटेर १७ हजार ५०० हेकटरमा मात्रै गहुँ खेती गरिन्छ।

यस्तै बैतडीको प्रमुख खाद्यबाली मकै उत्पादन हुने क्षेत्रफल पनि घटेको छ। वि स २०७४/०७५ मा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकैखेती गरिदै आएको भएपनि हाल घटेर १२ हजार २०० हेक्टरमा मात्रै खेती गरिदैं आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धानखेती भने ९ हजार हेक्टर क्षेत्रफमा पहिलाकै जति गरिदै आएको छ।

बैतडीको पाटन, हाट, सलेना, गाकुलेशवर, रुद्रेश्वर, उदयदेव, विशालपुर धान र गहुँ खेतीका पकेट क्षेत्र हुन भने जिल्ला सबैजसो स्थानमा मकैखेती गरिन्छ।