निर्माण सामग्री व्यापारको निर्वाचन स्थगित गर्न निर्देशन


न्युज अफ नेपाल, ललितपुर ।

यही मंसिर २१ गते तय गरिएको ललितपुर निर्माण सामग्री व्यापार संघको निर्वाचन स्थगित गरिएको छ ।

संघको अध्यक्ष प्रेमलाल महर्जनको समूह र संघका संस्थापक सदस्य बालकाजी महर्जनको समूहबीचको विवाद चर्किएको सन्र्दभमा निर्वाचन स्थगित भएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले निर्वाचन स्थगित गर्न कार्यसमितिलाई निर्देशन दिएको थियो ।

‘मंसिर २१ गते तय गरिएको निर्वाचन स्थगित गर्न भनेको छु । सबै सदस्यलाई निर्वाचन स्थगित गरेको सूचना दिन पनि जारी गरेर कार्यसमितिलाई भनेको छु ।’ प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले भन्नुभयो । निर्वाचनको लागि उम्मेदवार मनोनित समेत गरिसकेको अवस्थामा जिल्ला प्रशासनबाट यस्तो निर्देशन आएको हो ।

यस अघि निर्वाचन प्रक्रिया विधानसम्मत नभएको भन्दै संघका संस्थापक सदस्य महर्जनसहित, संस्थापक महासचिव मनराज श्रेष्ठ, संस्थापक सहसचिव मृगेन्द्रमान प्रधान, पूर्व महासचिव सविन महर्जन र पूर्व कार्यसमिति सदस्य सचेन्द्र महर्जन लगायत ५५ जना सदस्यले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएका थिए ।

उजुरीको विषयमा सुनवाई गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले दुवै पक्षबीच विवाद समाधान गरेर मात्र निर्वाचन गर्नु उपयुक्त हुने बताउनुभयो । ‘सरोकारवाला सबैलाई राखेर छलफल गरे । छलफलका क्रममा दुई वर्षदेखि संस्था नवीकरण नभएको कुरा पनि निस्कियो । त्यसैले शुरुमा साधारणसभा गरी संस्था नवीकरण गर्ने र त्यसपछि सहमतिको आधारमा अघि बढ्न सल्लाह दिएको छु । ’ प्रमुख जिल्ला अधिकारी पाण्डले भन्नुभयो ।

संघले गत असोज ४ गते शनिबार बाँडेगाउ“स्थित स्वेत बाराही मन्दिरमा नयाँ कार्यसमिति चयन सहित वनभोज कार्यक्रम आयोजना गर्ने भनेर पत्राचार गरेको थियो ।

तर सोही दिन वार्षिक साधारण सभा भन्दै ब्यानर टाँगिएपछि कार्यसमितिका केही सदस्य र बालकाजी समूहबीच विवाद चर्किएको थियो । बालकाजी समूहले वनभोज भन्दै बोलाइएको भेलालाई साधारण सभा भन्न नहुने भन्दै ब्यानर च्यातेका थिए ।

‘वनभोज कार्यक्रममा सहभागी हुन पत्राचार गरेर साधारण सभा गराउनु खोज्नु कार्यसमितिको बदनियत देखिएन र ?’ संस्थापक सचिव मृगेन्द्रमान प्रधानले भन्नुभयो ‘आर्थिक प्रतिवेदन र महासचिवको प्रगति प्रतिवेदन नगरी कसरी साधारण सभा हुन्छ ?’

हामी देशबाहिर रहेको समयमा वनभोज र नया“ कार्यसमिति चयन गर्ने भन्दै सदस्यता नवीकरण गर्ने र अनि वनभोजलाई नै साधारण सभा भन्नु कतिको वैधानिक हुने भन्दै पूर्व कार्यसमिति सदस्य महर्जनले भन्नुभयो‘ अवैध रहेको सभाले निर्वाचनको मिति तय गर्नुलाई वैधानिक मान्न सकिदैन ।’

तर अध्यक्ष प्रेमलाल महर्जनले संस्था नवीकरण गरेर नयाँ कार्यसमितिको निर्वाचन गर्र्ने तयारी भइरहेको बताउँदै भन्नुभयो ‘अहिले संस्था नवीकरण गर्नेतिर लागेका छौं । नवीकरण गरेर मात्र चुनाव गराउँदा उचित हुने जिल्ला प्रशासन कार्यालयको सुझाव अनुरुप काम गरिरहेका छौं ।’