आँखाको दृष्टि फर्किएपछि…


न्युज अफ नेपाल, हेटौंडा ।

६० वर्षीय गाइने नेपाली आँखाको पट्टी खोल्नेबित्तिकै खुशी भएर ठूलो स्वरमा कराउँदा वरिपरिको माहोल शान्त भयो ।

कसैले पनि के भयो भन्ने कुराको मेसो पाएनन् । स्पष्ट बोल्न नसक्ने नेपालीको आँखामा धरै वर्षपछि दृष्टि फर्किएपछि उहाँ खुशी थाम्न नसकेर ठूलो स्वरमा कराउनुभएको थियो ।

उहाँ हाँस्दै अनि उफ्रिएपछि हेटौंडा सामुदायिक आँखा अस्पतालको चौरमा नै खुशी छायो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका शलकपुरबाट केही समयअघि हेटांैडा–८ मा बसार्इं सरेर आउनुभएका नेपाली उहाँकी बहिनी सीता नेपालीको सहारामा बस्दै आउनुभएका थियो ।

दुवै आँखा नदेख्ने भएपछि उहाँको दिनचर्या घरको आँगनमा नै बित्ने गरेको थियो ।

गाउँमा भाँडा माझ्ने काम गरेर सीताले दाजु र आफ्ना अपांग छोराको खर्च टार्ने गर्नुभएको थियो । दाजु आँखा देखेर आफैं हिँड्नसक्ने भएपछि सीता हर्षको आँशुका साथ दाजुसँग लामो समय गफिनुभएको थियो ।

हेटाैंडा सामुदायिक आँखा अस्पतालको आयोजना र हिमालयन क्याटर्याक्ट प्रोजेक्टको सहयोगमा मकवानपुरको मनहरी, चुच्चेखोला, गढी, झुरझुरे, आँपटार, बाराको भोडाहा, पर्साको भिखमपुर र रौतहटको सिमरा भवानीपुरमा निःशुल्क शिविर आयोजना गरी १ हजार ५ सय २८ जनाको आँखा परीक्षण गरिएको थियो ।

शिविरबाट छनौट भएका २ सय ४० जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।

मकवानपुरमा आयोजित शिविर लायन्स इन्टरनेशनल ३२५ बी २ डिस्ट्रिक्ट नेपाल एरिया–२ र महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपालले शिविर संयोजन गरेका थिए ।