बौद्धिक अपाङ्गता विद्यार्थीहरुलाई म्याट्रेस सहयोग


प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–५, बगुवाखोलास्थित बाल जागृति आधारभूत विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई आइतबार म्याट्रेस सहयोग भएको छ ।

स्रोत कक्षामा अध्ययनरत बौद्धिक अपाङ्गता बालबालिकाहरुलाई लक्षित गरेर ओच्छ्याउनका लागि ११ थान लो–बेड म्याट्रेसहरु सहयोग गरिएको हो ।

बेनी नगरपालिका र सिविन नेपाल म्याग्दीको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता स्रोत कक्षालाई उक्त लो–बेडका म्याट्रेसहरु उपलब्ध गराइएको बेनी नगरपालिकाको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विद्यालयका निमित्त प्रधानाध्यापक धनबहादुर क्षत्रीलाई लो–बेड हस्तान्तरण गरेकी थिइन् ।

बेनपाका सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीले सञ्चालन गरेको कार्यक्रममा कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीका अध्यक्ष रवीप्रसाद शर्मा, सिविन म्याग्दीका सहजकर्ता छवि आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यसअघि ३०औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भको अवसरमा बौद्धिक अपाङ्गता बालबालिकालाई लो–बेड सहयोग गर्ने जनाइएको थियो ।

२०६८ सालदेखि सुरु गरिएको बौद्धिक अपाङ्गता स्रोत कक्षामा हाल म्याग्दीसहित देशका विभिन्न ६ ओटा जिल्लाका ३० जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् ।

नेपाल सरकारले वार्षिक रुपमा ‘क’ वर्गको ३५ हजार रुपैयाँ आवासीय छात्रवृत्ति उपलब्ध गराएको छ भने जिल्लास्थित सामाजिक संघसंस्थाले सहयोग गर्ने गरेका छन् ।